काठमाडौं । ललितपुरको सानेपास्थित स्टार हस्पिटलले २०० जना बिरामीको हिप र घुँडाको सफल प्रत्यारोपण गरिएको छ । मंगलबार हस्पिटलले एक कार्यक्रमको आयोजना गर्दै जोर्नी प्रत्यारोपण सेवा अन्तर्गत २ सय जना बिरामीको हिप र घुँडाको सफल प्रत्यारोपण गरिएको जानकारी गराएको हो ।
यो संख्या निजी अस्पतालहरुमा हालसम्म गरिएको जोर्नी प्रत्यारोपणहरुमा अहिलसम्मकै उच्च रहेको अस्पतालको दाबी रहेको छ । अस्पतालका प्रा.डा दिर्घ राज आर.सी, डा. सुमनबाबु मरहठ्ट्टा, डा राम इश्वर यादव लगायत प्रत्यारोपण विशेषज्ञको टोलीले उक्त प्रत्यारोपण सम्पन्न गरेको अस्पतालले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रा.डा. दिर्घराज आर.सीले आफूले १ हजार ७ सय भन्दा बढी जोर्नी प्रत्यारोपण गरिसकेको र उपचारपछि बिरामीहरु दिने गरेको प्रतिक्रियाले आफूलाई काम गर्न प्रेरित गरेको बताएका छन् । नेपालमा अझै पनि जोर्नी प्रत्यारोपणको बारेमा मानिसहरुलाई ज्ञान नभएका कारण पीडामा बस्नुपरेको प्रति उनले चिन्ता व्यक्त गरे ।
‘नेपालका ठूला सहरहरुमा त मानिसलाई जोर्नी प्रत्यारोपणको बारेमा ज्ञान छ र आउनुहुन्छ, तर दुर दराजमा भएका मानिसहरुलाई यसको बारेमा थाहा पनि छैन,’ उनले भने, ‘जोर्नी प्रत्यारोपणको संख्या बढ्दै जानु भनेको मानिसहरुमा पुग्नुपनि हो ।’
नेपाल सरकारले मिर्गौला, क्यान्सर जस्ता रोगहरुमा मानिसलाई सहुलियत दिँदै आएको छ । त्यसैगरी जोर्नी प्रत्यारोपणमा पनि सरकारले सहुलियत दिने हो भने हाड जोर्नीको रोगले मानिसहरु ग्रसित हुनु नपर्ने डा. आर.सी बताउँछन् ।
के हो जोर्नी प्रत्यारोपण ?
जोर्नी प्रत्यारोपण भनेको अर्थोपेडिक सर्जरीको एक विशेष र छुट्टै विधा हो । मानव शरीरका जोर्नीहरु विविध कारणले बिग्रन सक्छन् । धेरैजसो उमेरका कारण, कहिले बाहिरी रुपमा लाग्ने चोटपटकका कारण त कहिले संक्रमणका कारण जोर्नी बिग्रन सक्छ । जोर्नी बिग्रिसकेपछि शरीरमा अनेकौं लक्षण देखिन थाल्छन् जसले जीवन असहज बन्न पुग्छ । त्यसैले यसलाई उपचार र सर्जरी गरेर मिलाउनु अथवा शरीरमा भएको बिग्रिएको जोर्नीलाई निकालेर कृतिम जोर्नी राख्ने प्रविधिलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ । नेपालमा धेरै जसो हिप र घुँडाको जोर्नी प्रत्यारोपण हुने गरेको छ । यी दुईमा पनि घुँडाको समस्या बढी छ ।
यदि कुनै पनि कारणले घुँडाभित्र रहेको आर्टिकल कार्टिलेज एक प्रकारको चिल्लो पदार्थ बिग्रेमा दुई वटा हड्डी एक आपसमा नजिक हुन्छन् र घोटिन थाल्छन्, जसलाई घुँडा खिइएको भनिन्छ ।
घुँडा खिइने कारण
१. उमेरको कारणले खिइने रोग
२. पुरानो चोटको कारण
३. बाथ रोग
४. जोर्नीको संक्रमण
५. रगतसम्बन्धि रोग जस्तै, हेमोफिलिया
माथि उल्लेखित एक वा एकभन्दा धेरै कारणले मानिसको घुँडा खिइने समस्या आउन सक्छ । यो समस्या सुन्दा एउटै जस्तो लागे पनि यसका विभिन्न स्टेज हुन्छन् ।
जसअनुसार उपचार पद्दति पनि फरक–फरक हुन्छन् । बिरामीको लक्षण, डाक्टरको जाँच र एक्स–रे गरेर घुँडा खिइने अवस्थालाई ग्रेडिङ्ग गर्न सकिन्छ । घुँडा खिइने रोगलाई ४ वटा अवस्थामा राख्न सकिन्छ ।
यी चार अवस्थामा बिरामीको लक्षण चेकजाँच र उपचार विल्कुल नै फरक हुन्छ । त्यसैले बिरामीले के बुझ्नुपर्छ भने घुँडा खिइएको भन्दैमा सबैको उपचार एउटै हुँदैन । मानौँ बिरामीको उमेर ४० वर्षको छ र उसको घुँडा खिइएको छ, उसको अवस्था र उपचार तथा एउटा ६५ वर्षको बिरामीको अवस्था र उपचारमा विल्कुल फरक पर्छ । त्यसैले बिरामीले आफ्नो डाक्टरसँग घुँडाको समस्याको कारण र यदि घुँडा खिइएको छ भने खिइएको घुँडा कुन अवस्थामा छ प्रष्ट हुन जरुरी छ ।
जोर्नी बिग्रने बित्तिकै यसको प्रत्यारोपण नै गर्नुपर्छ भन्ने होइन । सजिलो भाषामा भन्नुपर्दा सबैको जोर्नीमा समस्या आउँदैमा दुख्दैमा प्रत्यारोपण गर्न पर्दैन र मिल्दैन पनि । शुरुमा हामी जोर्नी के कारणले बिग्रको हो कति बिग्रको छ सबै हेरेर मात्र निर्णय गर्छौं। प्रत्यारोपण नै गर्ने भनेको जोर्नी अब अन्य उपचार औषधि वा व्यायामले काम गर्दैन भन्ने लागेपछि मात्र गर्ने हो । यसलाई चारवटा स्टेजमा राख्छौं । दुई वटा स्टेज सम्म जोर्नी प्रत्यारोपण गर्नुपर्दैन ।
भिडियाे :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया