काठमाडौं । कोशीका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । प्रदेशसभा बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्ने भएका छन् ।
उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि उनले ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले नै बैठक सञ्चालन गर्ने तोकेकी थिइन् । सत्तारुढ गठबन्धनले भने मन्सुरीले बैठकको अध्यक्षता गरे पनि उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।
उपसभामुख दनुवारले आफ्नो अनुपस्थितिमा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन २०७५) को नियम ११ को उपनियम (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न यस अघि नै सभामुखबाट मनोनीत चार जना सदस्यमध्ये नेपाली कांग्रेसका इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी छन् ।
योसँगै सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका थापाको सरकार फेरि पनि अल्पमतमा पर्ने हो कि भन्ने आशंका गर्न थालिएको छ । मूख्यमन्त्री थापाको पक्षमा बहुमत ४७ प्रदेशसभा सदस्यको मात्र समर्थन रहेको छ । यसअघि कोशीमा सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो भने प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो ।
प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा छिन् । उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् भने उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने जानकारी सचिवालयलाई गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया