आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले ‘लोक सेवा आयोग विधेयक’ प्रस्तुत गर्ने

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा तेस्रो अधिवेशनको बैठक आज सोमवार बस्दैछ ।

आजको बस्ने बैठकमा सांसदहरुले रक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरु सोध्ने कार्यक्रम रहेको छ । यसकासाथै सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले प्रश्नहरुको उत्तर दिने छन् ।

त्यसैगरि, व्यवस्थापन कार्य तर्फ “लोक सेवा आयोग विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेका विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो विधेयक प्रस्तुत गर्ने कार्य तालिका रहेको संघीय संसदको सचिवालयले जानकारी दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले “संघीय निजामती सेवा विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

गृह मन्त्री रामबहादुर थापाले “नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

अर्थ मन्त्री डा युवराज खतिवडाले, “अर्थ समितिको प्रतिवदे न सहित लेखापरीक्षण विधेयक, २०७५ माथि छलफल गरियोस्”, “लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरियोस्”, भनी प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले, “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहित जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने “जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

प्रतिनिधिसभाको बैठक सोमवार दिउँसो १ बजे बस्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?