डेंगीको उपचार सरकारी अस्पतालहरुमा निशुल्क हुने

लोकपथ
49
Shares

काठमाडौं । वर्षायामसँगै डेंगी संक्रमण बढिरहेको छ । यो वर्ष ७ हजार ७ सय ३३ जनालाई डेंगी संक्रमण पुष्टि भइसकेको छ । ७ जनाको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी संक्रमण सुनसरीको धरानमा देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष डेंगी संक्रमण नदेखिएका स्थानहरुमा यस वर्ष संक्रमण धेरै देखिएको छ ।

डेंगीको उपचार सरकारी अस्पतालहरुमा निशुल्क हुने भएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना तथा इपिडिमियोलोजी (इडिसिडी) तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा भएको डेंगी महामारी र नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले डेंगीको उपचार सरकारी अस्पतालहरुमा निशुल्क हुने जानकारी दिए। डेंगीको परीक्षण शुल्कलाई एकरुपता ल्याउन समिति बनाएर काम गर्ने तयारी भइरहेको जानकारी दिए।

हाल डेंगीको परिक्षण शुल्क ७०० देखि १२५० सम्म लिएको पाइएको छ । साथै उनले स्वास्थ्य पत्रकार मञ्चलाई आर्थिक सहयोग गर्न तयार रहेको पनि बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले डेंगी संक्रमणका लागि शशक्त भएर काम गरिरहेको बताए । संक्रमण नियन्त्रणमा जनशक्तिको अभाव चुनौती रहेको उनले बताए।

इडिसिडी महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले ७७ वटै जिल्लामा डेंगीको भाइरस रहेकाले कुनैपनि बेला कुनै पनि स्थानमा डेंगीले महामारीको रुप लिनेसक्ने चेतावनी दिए।

No description available.

उनले गत वर्ष महामारीको रुप नलिएको ठाँउमा जतिबेला पनि महामारीको रुप लिन सक्ने बताए। गतवर्ष काठमाडौं उपत्यका, हेटौडा, चितवनमा डेंगीले महामारीको रुप लिएको थियो । यसपटक धरानमा सबैभन्दा धेरै संख्यामा डेंगी संक्रमण देखिएको छ । साथै उहाँले वर्षौसम्म डेंगी संक्रमण देखिरहन सक्ने चुनौती रहेको बताए।

सुनसरीमा ५ हजार ३९८ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु सबै वीपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत संक्रमित रहेको निर्देशक मरासिनीले बताए।

कार्यक्रममा शुक्रराज टर्पिकल तथा सरुवा रोग अस्पताल टेकूका प्रमुख कन्सल्टेन्ट डा. विमलशर्मा चालिसेले नेपालमा डेंगीको ४ वटै सेरोटाइप देखिएको बताउनुभयो । अहिले काठमाडौंमा डेंगीका बिरामी खासै नदेखिएको बताउदै उनले डेंगीले काठमाडौंमा महामारी लिने या नलिने भन्न थप २– ३ हप्ता कुर्नपर्ने बताए ।
नेपालमा सबैभन्दा धेरै सेरोटाइप १ र ३ देखिएको उनले बताए। ८० प्रतिशतलाई डेंगीको लक्षण नदेखिने बताए।

एकै व्यक्तिलाई दोहोरिएर संक्रमण भए संक्रमितलाई गम्भिर बनाउन सक्ने उहाँले बताए ।

कार्यक्रममा उपचारात्मक महाशाखाका निर्देशक डा. अनुप बाँस्तोलाले डेंगी नियन्त्रणका लागि टायर फाल्ने अभियान सुरु गर्नपर्ने बताए। उनले जताततै टायर रहेकाले ती टायरमा जमेको लार्भालेनै डेंगी फैलाइरहेको बताए।

डेंगी संक्रमण नियन्त्रणका लागि विद्यालय शिक्षामानै डेंगी संक्रमण र रोकथामको विषय समावेश हुनपर्ने बताए ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य क्षेत्रमा संवेदनशिल भएर स्वास्थ्य पत्रकारहरुले कलम चलाइरहेको बताए ।

यसरी सर्छ डेंगी, के के देखिन्छन् लक्षण ?

डेंगी एडिस जातको लामखुट्टेले सार्छ । लामखुट्टेले टोकेको ४ देखि १० दिनभित्र लक्षण देखिन्छ । धेरैजसो व्यक्तिहरूमा डेंगीका सामान्य तथा मध्यम खालका लक्षण देखिन्छन् । निको हुन् लक्षण देखिएको १ देखि २ हप्तासम्म लाग्छ । सन् २०२२ मा ५४ हजार ७८४ जनालाई डेंगी संक्रमण भएको थियो । ८८ जनाको मृत्यु भएको थियो ।

नेपालमा विस २०६१ सालमा पहिलो पटक डेंगी पुष्टि भएको थियो । त्यसयता बेलाबेलामा महामारीनै फैलिएको छ । सन् २०१० यता नेपालमा प्रत्येक ३ र ३ वर्षमा महामारी फैलिएको तथ्यांकले देखाएको छ । नेपालमा सन् २०१३, २०१६, २०१९ र २०२२ मा महामारी देखिएको छ ।

सामान्य लक्षण
एक्कासी उच्च ज्वरो आउनु ९१०२० डिग्री

अत्याधिक टाउको दुख्नु

आँखाको गेडी दुख्नु

ढाड जोर्नीे तथा मांशपेशीहरू दुख्नु

वाकवाकी लाग्नु

वान्ता हुनु

ज्वरो आएको ३ देखि ५ दिनपछि शरीरमा रातो रातो बिमिराहरू देखा पर्नु

गम्भीर लक्षण

अत्याधिक पेट दुख्नु

लगातार वान्ता आइरहनु

छिटो छिटो सास फेर्नु

गिजा वा नाकबाट रगत बग्नु

थकान

वान्ता वा दिशामा रगत देखिनु

मुख सुख्खा हुनु

छालाको रंग पहेँलो हुनुकमजोर महसुस हुनु

यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्था पुग्नुपर्छ । संक्रमणमुक्त भइसकेपछि पनि लामोसमय सम्म थकानको महसुस हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?