सभामुख घिमिरेले भने– ‘सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन’

लोकपथ
63
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सूचना टासेर संसद बैठक स्थगित गर्ने नजिर स्थापित गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् ।

आज नयाँ बानेश्वरस्थित संसद भवनमा शीर्ष नेताहरुसँगको छलफलपछि पत्रकारहरुसँग बोल्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।

निरन्तर संसद अवरोध हुँदा जनसवालका विषयहरु नै ओझेलमा परेको बताउँदै सभामुख घिमिरेले आफूले सहमति जुुटाउने अघिकतम प्रयासमा रहेको बताए । साथै भोलि तोकिएको मितिमा बैठक बस्नेमा आफू ढुुक्क रहेको बताए ।

‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन ।’ उनले भने, ‘मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु । म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु । यही अनुरुप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन । आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं ।’
त्यस्तै बैठकमा संसदको अवरोध खुलाउन प्रयास गरेकोमा प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरेको र प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गरेको बताए ।

‘सदनको अवरोध खुलाउन पहल गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो । मैले पनि नेताहरु उपस्थित भएर छलफलमा सहभागी हुनुभएकोमा धन्यवाद दिएँ । आज संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गर्नुभयो ।’ उनले भने ।

त्यस्तै दुवै पक्ष सहमत हुन नसक्दा भोलिसम्मका लागि बैठक स्थगित भएको उनले बताए ।

भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?