संबैधानिक परिषद् बस्दै, प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस हुनसक्ने

लोकपथ
448
Shares

काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज (मंगलबार) दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । संबैधानिक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बैठक बोलाएका हुन् ।

प्रमुख प्रतिपक्षी एमालेले प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन अवरोध खडा नगरे संबैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने छ ।

विपक्षी एमालेले नचाहेसम्म प्रधानन्यायाधीश नियुक्ति सिफारिस नै कठिन हुनेछ । एमालेले प्रधानन्यायाधीशसँगै न्यायाधीशहरू नियुक्तीका विषय पनि एकै साथ टुंगो लगाउनु पर्ने जनाउँदै आएका छन् ।तर, प्रधानमन्त्री दाहालले प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिर्वाय अवकाशमा जाने भन्दै न्यायाधीशहरूका विषयमा पछि छलफल गर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने ६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रमुख विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य हुने संबैधानिक व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी दलका नेतामा एमाले अध्यक्ष केपी शर्मा ओली छन् भने प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्ष पनि एमालेबाटै निर्वाचत सांसदहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?