नेकपा कार्यदल बैठक आज पुनः बस्दै, प्रतिवेदन बुझाउने प्रयास जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यदलको बैठक आज बस्दैछ । 

नेकपाको तल्लो तहसम्मको एकता प्रक्रिया टुंग्याउन गठित कार्यदलको बैठक शुक्रवार दिउँसो बस्न लागेको हो । 

हालसम्म भएका प्रगति पेस गर्न सचिवालयले निर्देशन दिएपछि कार्यदल छलफलमा व्यस्त बनेको हो । 

संघीय संसदको दुवै सदनको बैठक भएकाले आज संसद बैठक सकिएपछि कार्यदलको बैठक बस्ने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

त्यस्तै बिहीवार बसेको कार्यदल बैठकमा सदस्यबीच नै प्रतिवेदन बुझाउने विषयमा विवाद भएपछि बैठक आजको लागि बोलाइएको संयोजक रामबहादुर थापाले जानकारी दिए ।

अहिलेसम्मको प्रगति समेटेर प्रतिवेदन बुझाउने प्रस्ताव गरेका संयोजक थापाले भने अन्य सदस्यले सहमति भएका र सहमति हुन बाँकी विषय छुट्टयाएर प्रतिवेदन बनाउनुपर्ने बताएका थिए ।

आज बस्ने बैठकमा हिजोको नै विषयलाई निरन्तरता दिने कार्यदल सदस्य पाण्डेले जानकारी दिए । 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको ९ महिना हुन लाग्दा समेत तल्लो तह, भ्रातृ तथा सुभेच्छुक संगठनको एकता भएको छैन । 

एकताको काम सक्ने विधि, प्रक्रिया र आधार तय गर्न नेकपाको स्थायी समितिको गत पुस १३ गते बसेको बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?