काठमाडौं । संसदमा गृहमन्त्रीलाई प्रश्नको ओइरो लागेको छ । सांसदहरुले गृहमन्त्री राम बहादुर थापा बादललाई निर्मला पन्तको हत्यारा कहिले सम्म पत्ता लाग्छ भनेर प्रश्न सोधेका छन् ।
बुधबार संसदमा भएको प्रश्न उत्तरमा कांग्रेस सांसद डिला संग्रौलाले पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई पक्राउ गरी मुद्दा किन चलाइएन भनेर प्रश्न सोधेकी थिइन् । उनले सोधिन्, 'अपराधको श्रृङ्खला कहिले रोकिन्छ ?'
'कांग्रेस सांसद संग्रौलाको प्रश्नमा गृहमन्त्री थापाले पन्तको बलात्कार तथा हत्या घटनामा सरकार गम्भीर रहेको र अनुसन्धान जारी रहेको बताए । उनले थपे, 'जहाँसम्म अपराधीलाई किन कारबाही गरिएको छैन भन्ने सवाल हो, यसबारे अनुसन्धानमा लापरवाही गर्ने प्रहरीलाई कारबाही गरिसकेको छ ।'
कुनै पनि अपराधीलाई राज्यलाई छुट दिन नसक्ने भन्दै अपराधीलाई कानुनको कठघरामा ल्याइने गृहमन्त्रीले प्रतिबद्धता जनाए ।
संग्रौलाको पूरक प्रश्न फेरि सोधिन्, "बलात्कारपछि हत्या भएको ६ महिना भयो । बलात्कारको घटनामो प्रमाण भनेको शरीर र लुगा हुन्छ । किन नष्ट गरेको ? सरकारले निर्दोषलाई दोषी करार गर्न खोज्यो । हत्यारा बालुवाटार र सिंहदरबारकै कुर्सीमा छैनन् ?"
जवाफमा गृहमन्त्री थापाले ९५ प्रतिशत बढी अपराधीलाई कानुनको कठघरामा ल्याउन सफल भएको बताए । ४/५ प्रतिशतलाई ल्याउन प्रयत्नशील रहेको उनको भनाई छ ।
'कुनै अपराधलाई प्रहरीले तुरुन्तै पत्ता लगाउन सक्दैन । यो प्रकरणले पनि समय लिएको छ ।' उनले भने, 'माननीयज्यूले आक्रोसित मुडमा अपराधी बालुवाटारमा छन् कि सिंहदरबारमा छन् भन्ने प्रश्न गर्नुभयो । अपराधी जहाँसुकै हुन्, कानुनको कठघरामा आउनेछन् ।'
गृहमन्त्रीलाई प्रश्न तेर्साउँदै कांग्रेस नेता गगन कुमार थापाले सोधे, प्रधानमन्त्री र रक्षामन्त्रीले सार्वजनिक कार्यक्रममा नै ५ दिनभित्र अपराधी सार्वजनिक गर्छौ भनेर भन्नुभएको थियो कुरा गृहमन्त्रीलाई थाहा छ कि छैन ।
गगनको प्रशनको जवाफमा गृहमन्त्रीले भने, रक्षामन्त्री पोखरेलले भनेको कुरा आफूलाई जानकारी नभएको बताएका छन् । छिट्टै अपराधीलाई कानुनको कठघरामा ल्याउने भन्नु भएको होला भन्ने अनुमान गर्न सक्छु ।
कतिपयले साविती बयान पनि दिएका थिए तर, अरु प्रक्रिया पुरा नभएकाले मुक्त गर्न भन्दै सन्दिग्ध व्यक्ति अनुसन्धानको घेराभित्र आएको आधार बनाएर उहाँहरुले भन्नुभएको हो ।
सांसद सुजाता परियारले निर्मला पन्तको घटना लामो समयसम्म अनुसन्धान भइरहेको भनेर मात्रै राखिनुमा आशंका रहेको भन्दै सोधिन्, 'वास्तविक हत्यारा कहिले पत्ता लाग्छ ?'
गृहमन्त्री थापाले जवाफमा भने, 'अनुसनधान भइरहेको छ । जे भइरहेको छ मैले सदनलाई जानकारी दिने पनि त्यहि हो ।'
सरकार सकेसम्म अपराधीलाई कानुनको कठघरामा ल्याउन प्रतिवद्ध छ थापाको जवाफ थियो ।
अर्का सांसद राजेन्द्रप्रसाद लिङ्देनले सोधे, 'रक्षामन्त्री मात्रै होइन, गृहमन्त्रीले पनि अपराधी पक्राउ परेको भनेर भन्नुभयो । राज्य किन कच्चा सूचनामा विश्वास गर्छ ?'
गृहमन्त्री थापाले निर्मला प्रकरणमा केन्द्रबाट सिआइवीको टोली खटाएको , २ जनालाई पक्राउ पनि गरिएको र आफूले पनि उनीहरुको बयानका आधारमा अपराधी कठघरामा आएको भनेर स्पष्ट पारे ।
९६ प्रतिशत अपराधी कानुनी कठघरामा ल्याएकोमा बधाइ दिँदै सांसद महेश बस्नेतले व्यङ्ग्यात्मक शैलीमा भने, 'दिलीपसिंह बिष्टलाई के कारवाही हुन्छ ?'
त्यसतर्फ सरकार गम्भिर रहेको भन्दै सरकारले आवश्यक कदम चाल्ने गृहमन्त्री थापाको जवाफ थियो ।
सांसद रामबहादुर विष्टले सोधे, 'अछाम मंगलसेनका नवराज विष्टका हत्यारालाई कारवाही कहिले हुन्छ ?'
सरकारले लिखित रुपमा यसअघि घटनाबारे सदनमा जानकारी गराइसकेको भन्दै गृहमन्त्री थापाले जेठ १ गते विष्टको लास भेटिएको र प्रहरीले बरामद वस्तुहरु र जाहेरीका आधारमा अनुसन्धान टोली गठन गरेको र परीक्षणबाट मृत्युको कारण खुल्न नसकेको रिपोर्ट आएको बताए । यसबारे अनुसन्धान भइरहेको थापाको भनाई छ ।
'अछामको मङ्गलसेनको घटनामा अपराधीहरुलाई कठोर यातना दिएको भन्ने छ, वास्तविकता के हो ?' सांसद राजेन्द्र केसीले प्रश्न गरे ।
'सरकारको यातना दिने र अङ्गभङ्ग गर्ने नीति छैन ।' गृहमन्त्री थापाले भने, 'यदि भएको छ भने त्यसको छानविन हुन्छ ।'
घनश्याम खतिवडाले सोधे, 'मोरङको लेटाङमा खानेपानी ट्याङकीमा विषादी हालेर धेरै मानिस विरामी भए । यसबारे के भइरहेको छ ?'
गृहमन्त्री थापाले जवाफ दिए, मन्त्रालयले लिखित जानकारी दिइसकेको छ । फेरि पनि दिन चाहन्छु । जिप्रकाको प्रतिवेदनका आधारमा छानविन भइरहेको छ ।
मुलुकका ठूला चार घटना नै सरकारले पहिचान गर्न सकेन । सरकारको सफलताको आधार के हो मिनेन्द्र रिजालले प्रश्न गरे ।
गृहमन्त्री थापाले भने, 'बाँकी ४ प्रतिशतमा पनि सरकार सफल हुन्छ ।'
संसदमा भएको प्रश्नउत्तरका क्रममा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले काँडाघारीका निशान खड्काको अपहरणपछि हत्यामा संलग्नहरुको इन्काउन्टरबारे प्रश्न गरे ।
गृहमन्त्रीले संसदमा पठाएको पत्र पढेर सुनाए । र भने यो विषयमा संसदमा गृहमन्त्रालयले पहिलानै लिखित जवाफ दिइसकेको छ ।
सांसद कँडेलले ‘पेस्ताल निकालेर आक्रमण गर्न खोज्दा प्रतिरक्षा गरेको भनिएको छ । कुन पेस्तोलले कति दुरीबाट प्रहरीमाथि आक्रमण भयो र प्रहरीले फायर खोल्यो ?' उनले प्रतिप्रश्न गरे ।
गृहमन्त्रीले जंगलमा इकाउन्टर भएको थियो भन्ने रिपोर्ट प्राप्त भएको तर, कति दुरी भन्ने प्रष्ट नभएको बताए ।
सांसद बालकृष्ण खाँडले अपराधीलाई गिरफ्तार गरेर कानुनी कारबाहीमा ल्याउनुपर्नेमा इन्काउन्टर भइरहेको भन्दै कसले आदेश दिन्छ भनेर प्रश्न गरे ।
जवाफमा गृहमन्त्री बादलले अपराधीको खोज गर्दै जाने क्रममा अपराधीबाट प्रहार गर्ने सम्भावना रहन्छ भने आत्मरक्षाका लागि प्रहरीले गोली हान्न सक्ने बताए । उनले भने, ‘माथिबाट आदेश दिनु पर्दैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया