प्रतिनिधिसभाको बैठक आज, चार विभागीय मन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने

 काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।

बैठक बुधवार दिउँसो १ बजेका लागि बोलाइएको हो । आज बस्ने बैठकमा चार जना विभागीय मन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । सांसदहरुले दर्ता गराएका लिखित प्रश्नको मन्त्रीहरुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा पालैपालो जवाफ दिने भएका हुन् । 

संसद् सचिवालयका अनुसार आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री युवराज खतिवडा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले सांसदले दर्ता गराएका प्रश्नको जवाफ दिने भएका हुन् । 

सचिवालयका अनुसार गृहमन्त्री थापासँग कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि दोषी पत्ता लाग्न नसकेको विषयमा प्रश्न दर्ता गराएकी छन् । त्यस्तै कांग्रेसकै देवेन्द्रराज कँडेलले भक्तपुरमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरिएको र लगत्तै प्रहरीको इकाउन्टरमा दोषी मारिएको विषयमा गृहमन्त्री थापाको जवाफ माग गरेका छन् ।

नेकपाकी सांसद सरिता न्यौपानेले पैतृक सम्पत्ति सम्बन्धित विषयमा माहिला बालबालिका मन्त्रीसँग जवाफ माग गरेकी छन् । त्यस्तै सांसदहरु दीलेन्द्रप्रसाद बडू, डा।मिनेन्द्र रिजाल, अहतरकमाल मुसलमान, रंगमति शाही, राबहादुर बिष्ट, प्रकाश स्नेही, प्रेम सुवाललगायतले प्रश्न दर्ता गराएको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयमा मन्त्रीलाई सोध्न सांसदहरुले ८८ वटा मौखिक र २८ वटा लिखित प्रश्न दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?