काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेका छन् ।
आइतवार ११ः३० मा समितिले गत माघ ६ गते सिफारिस भएका विभिन्न पाँच संवैधानिक आयोगका प्रस्तावित अध्यक्षमाथि उजुरी आह्वान गर्ने विषयमा छलफल गर्न बोलाइएको सुनुवाई कांग्रेस सांसदहरुदे बहिस्कार गरेका हुन् ।
कांग्रेसका सांसदहरुले संवैधानिक आयोगमा गरिएको सिफारिसप्रति लिखित असहमति राख्दै बैठक बहिस्कार गरेका हुन् ।
कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाको उपस्थितिविनै बसेको बैठक गैरकानूनी भएको दाबी गर्दै उक्त निर्णयको कागजात मगाई सुनुवाई समितिले छानबिन गर्नुपर्ने माग कांग्रेस सांसदहरुको छ ।
कांग्रेस सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, जीतेन्द्र देव, पुष्पा भुसालले लिखित असहमति बुझाएर बैठकबाट बाहिरिएका थिए ।
संवैधानिक परिषद्को गत माघ ६ गते बसेको बैठकले विभिन्न पाँच वटा संवैधानिक आयोगको अध्यक्षको नाम सिफारिस गरेको थियो । परिषद्को बैठकले राष्ट्रिय प्रकृति तथा वित्त आयोगमा बालनन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।
यसैगरी आयोगमा अन्य चार जना सदस्य रहने व्यवस्था भएपनि सदस्यको भने टुङ्गो लाग्न बाँकी छ ।
संविधानमा व्यवस्था भएका अन्य तीन वटा आयोग राष्ट्रिय महिला आयोग, दलित आयोग र समावेशी आयोगको अध्यक्ष चयन हुन बाँकी छ ।
यसैबीच प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगको अध्यक्षको नाम सिफारिस गरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ ।
सरकारले गत भदौ ५ गते रिक्त रहेका विभिन्न ८ वटा संवैधानिक आयोगमा अध्यक्षसहित चार–चार सदस्यको पद प्रर्ति गर्नुपर्ने जानकारीसहित सूचना निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया