बन्धक बनाइएका नेपाली युवाको उद्धार गर्न ‘कूटनीतिक प्रयास’ शुरु

काठमाडौँ–लिवियामा महिना दिनदेखि बन्धक बनाइएका पाँचजना नेपाली युवाको उद्धार गर्न सरकारले ‘कूटनीतिक प्रयास’ शुरु गरेको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ।  

  वैदेशिक रोजगारको सिलसिलामा युरोप हिँडेका म्यादीका धिरज थापा र अमन लोज ९मगर०, पर्वतका रञ्जीत केसी, सुरेश केसी र ओम गुरुङलाई लिवियामा क्रियाशील स्थानीय एजेन्टले बन्धक बनाएका हुन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईका अनुसार, बन्धक बनाइएका पाँचैजनालाई सकुशल उद्धार गर्न इजिप्टस्थित नेपाली राजदूतावासबाट कूटनीतिक प्रयास भइरहेको छ । गत भदौमा इटाली जान भनेर काठमाडौंँबाट दुवाई हिँडेका ती युवा पुसको पहिलो हप्ता लिविया पुगेका थिए ।

पीडित युवाका आफन्तहरूका अनुसार, लिवियाबाट पैदल तथा जलमार्ग प्रयोग गरी युरोप लैजाने क्रममा त्यहाँ सक्रिय अर्को मानव तस्कर समूह ९एजेन्ट० ले पाँचैजनालाई कब्जा लिई बन्धक बनाएको हो ।

बन्धक बनाउने समूहले जनही एकहजार अमेरिकी डलर फिरौती माग गरेको बताइएको छ । पीडितका आफन्तहरू गुनासो तथा उजुरी लिएर परराष्ट्र मन्त्रालय र महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँ आएपछि सो घटना बाहिर आएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, वैदेशिक रोजगारका नाममा पाँचजना युवासँंग जनही १३ लाख ८० हजार रुपियाँ उठाउने मुख्य अभियुक्त पर्वतका जीतकाजी गुरुङ फरार छन् । उनको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?