काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकीकरण भएको छ । पार्टी एकीकरणपछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को घोषणा गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रवार औपचारिक कार्यक्रम पार्टी एकता घोषणा भएको हो ।
एकता कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष डा. प्रकाशचन्द लोहनीले एउटै धारका दुई पार्टी एक हुँदा खुसी व्यक्त गरे । उनले पार्टी एकतापछि संयुक्त रुपमा अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए ।
साथै उनले देशमा धर्म स्वतन्त्रसहितको हिन्दू राष्ट्र हुनुपर्नेमा धारणा राखे । ‘पाँच हजार वर्ष पूरानो संस्कृति नै हिन्दू भएकाले नेपालमा हिन्दू राष्ट्र कायम गर्नुपर्छ ।’, उनले दाबी गरे ।
नेपालको सबैभन्दा ठूलो शक्ति नै हिन्दू संस्कृति भएकाले यसलाई संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।
एकता कार्यक्रममा लोहनीले सत्तापक्ष पार्टी नेकपाले गलत बाटो रोजेको आरोप समेत लगाए । ‘गल्ती नगरौं र शक्ति नगुमाऔँ, नेपाल दुईसय करोड मानिसका लागि तिर्थस्थल बन्न सक्छ ।’, उनले भने ।
कार्यक्रममा बोल्दै नेता लोहनीले कम्युनिस्ट सरकारका बेला देशको अर्थतन्त्र घट्दै गएको भन्दै सरकारको विरोध गरे । उनले अहिलेको युग जनताको युग भएको र विश्वको मालिक जनता भएको भन्दै जनताका कुरालाई आफ्नो पार्टीले सम्बोधन गर्नेछ भन्ने धारणा राखे । लोहनीले राजसंस्था भएका देशको उदाहरण दिँदै नेपालमा पनि संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्रको व्यवस्था हुनुपर्ने धारणा राखे । नेता लोहनीले अहिलेको संविधानमा व्यवस्था भएको प्रधानमन्त्री छनोट प्रक्रियाप्रति पनि असहमति जनाउँदै उनले भने, ‘नेपाली जनताले अभिभावकत्वको महसुस गर्न पाएनन्, सरकारले काम गर्न सकिरहेको छैन ।’
उनले आफ्नो पार्टी भ्रष्टाचारको विरुद्धमा डटेर लड्ने समेत दाबी गरे । सरकारले आफू बन्ने, कानून र सत्ताको दुरुपयोग गर्ने गरेको आरोप समेत लगाए । ‘भ्रष्टाचार नियन्त्रण भएन भने नेपालको विकास हुन सक्दैन, सुशासन स्थापना हुन सक्दैन’, उनले भने, ‘अहिलेको चिन्ताको विषय भनेको सरकारको लुटतन्त्र नै हो, ३३ किलो सुनको फाइल प्रधाननमन्त्रीको कार्यालयमा छ, जनतालाई देखाउनुपर्छ ।’
अध्यक्ष लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यशैलीप्रति असहमति जनाउँदै ओलीले सबै नेतृत्त्व आफैले लिन खोजेको आरोप लगाए । उनले गोविन्द केसीका मागलाई सरकारले बेवास्ता गरेको बताए ।
त्यस्तै पार्टीका अर्का अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले दश महिनामा कुनै पनि काम गर्न नसकेको र उपलब्धि शून्य भएको आरोप लगाए । साथै उनले नेता लोकेन्द्रबहादुर चन्द र कमल थापासहित विचार मिल्ने अन्य पार्टीलाई समेत पार्टी एकीकरण गरी अगाडि बढ्न आह्वान गरे । नेपालमा हिन्दू राष्ट्र कायम भएन भने आफूहरु सडकमा आएर आन्दोलन गर्ने समेत पछि नपर्ने उनको भनाइ थियो । ‘हामी अरु धर्मलाई मर्कामा पार्ने पक्षमा छैनौँ तर नेपालमा हिन्दू धर्म कायम भएन भने सडकमै आएर सुत्छौँ, मुलुकको मूल पहिचान नै हिन्दू धर्म हो ।’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया