शहिद दिवस : कमल थापाको प्रश्न देश टुक्र्याउन कसले भन्यो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कागजी रुपमा मात्र नभई व्यवहारिक रुपमा शहिदका सपना पूरा गर्ने कार्य गरे मात्र राष्ट्र र राष्ट्रियता प्रति समर्पण गर्दै साहदत प्राप्त गरेका शहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । 

राप्रपाद्वारा केन्द्रीय कार्यालय धुम्बाराहीमा शहिदहरुको सम्मान र सम्झनामा आयोजित  श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रजातन्त्र, लोकतन्त्र जस्ता शब्दहरु संविधान, कानून तथा भाषणहरुमा प्रशस्त भएपनि यथार्थमा त्यसको आभाष अझैसम्म हुन नसकेको भन्दै शहिदहरुको सपना विपरित लुटतन्त्र र भ्रष्टाचारले मलजल पाएकोप्रति उनले दुःख समेत प्रकट गरे । 

दल तथा नेताहरुको अकर्मण्यताकै कारण देश टुक्र्याउने आवाज उठ्नु, दिनहुँजसो जबर्जस्ती धर्म गराउने क्रम बढ्नु, हत्या, भ्रष्टाचार, हिंसा, बलत्कार जस्ता कुकृत्यले सिमा नाघ्दै गएकोले वीर शहिदहरुको सपनामा तुषारापात हुने हो कि भन्ने शंका पैदा भएको बताउँदै अध्यक्ष थापाले शहिदहरुको सम्मानको लागि आम जनताले परिवर्तनको महसुस गर्न सक्ने वातावरण तयार गर्न सबैमा आग्रह गरे । 

राष्ट्रवादी विचार बोकेकै कारण राप्रपाका करिब २ सय जना व्यक्तित्वले साहदत प्राप्त गरेको प्रसंग उल्लेख गर्दै अध्यक्ष थापाले कृष्णचरण श्रेष्ठ, गोपाल गिरी, राजेन्द्र श्रीवास्तव, गीतानिधि रायमाझी, हर्क बहादुर गुरुङ, क्षेत्र बहादुर केसी, रामलखन चौधरी, धन बहादुर बम, अजय राज सिंह, मनोज प्रताप मल्ल, वशन्ती, लामा, धनरुप बटाला, शारदा प्रसाद ढुंगेल, देवी जंग पाण्डे लगायतका शहिदहरुको सपना पूरा गर्न राप्रपा सदैव दृढ संकल्पित रहेको स्पष्ट पारे । 

राज्यले घोषणा गरेका शहिदहरुलाई पार्टीगत आधारमा गरिएको विभेदको अन्त्य गर्दै सबैलाई समान व्यवहार गर्न थापाले सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?