प्रदेश नं २ को सुझाब संकलन कार्यक्रममा पक्ष र बिपक्षबीच चर्काचर्की

जनकपुर । जनकपुरमा प्रदेश नं २ को नाम र राजधानीको विषय टुंग्याउन आयोजित सुझाब संकलन कार्यक्रम चर्को नाराबाजी, असन्तुष्टी र सत्ता पक्ष एवम् बिपक्षबीच चर्काचर्की बहसमै सकिएको छ ।

प्रदेश सरकारले गठन गरेको सुझाब तथा सम्वाद आयोगको सुझाब संकलन कार्यक्रममा मधेश आन्दोलन ताका सक्रिय सहभागि युवाहरुले असन्तुष्टी जनाउँदै नाराबाजी गरे । बन्द कोठामा कार्यक्रम गरिनु आपत्तीजनक रहेको उनीहरुले बताए । एकैछिनको होहल्लापछि सुरु भएको कार्यक्रममा नेकपाका प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले पर्याप्त गृहकार्य गरेर मात्रै प्रदेशको नामाकरण टुंग्याउन सुझाए । उनले तात्काल राजधानीको विषय टुंग्याउन सुझाउँदै सरकारको गतिविधिलाई तानाशाहको संज्ञा दिए ।

नेकपाका मण्डलले सचेत गराइरहँदा संघीय फोरमकी चमेली देवी दासले आपत्ती जनाइन् ।

राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले मधेश आन्दोलनमा आफ्नो सहभागिता रहेको दाबी गर्ने नेकपा र नेपाली काँग्रेसका नेताले आन्दोलनको उद्येश्यबारे जवाब दिनुपर्ने धारणा राखे । आन्दोलनमा सहभागि भएर मधेश प्रदेशको नारा लगाउने तर अहिले प्रदेशको नामाकरणको विषयमा बखेडा झिकेर दोहोरो चरित्र देखाएको राजपाका साहको टिप्पणीप्रति नेकपाका किशोरी साह कमलले आपत्ती जनाए । 

वादविवाद र उत्तरप्रत्युत्तर त्यत्तिकैमा नरोकिइ कार्यक्रम अवधिभरि सभाहल तनाबपूर्ण बनेको थियो । ४५ दिनभित्र प्रदेशको नाम र राजधानीको विषय टुंग्याएर प्रस्ताव गर्न गठन गरिएको आयोगको समयसीमा दुई महिना थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?