बालबालिकालाई नियमित खोप लगाइयो

लोकपथ
21
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आइतबार एकैसाथ खोप लगाएको छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइएको बताए ।

यसअघि यही वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो । उनका अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप लगाइएको छ ।

मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि यही वैशाख १५ गते र आइतबार अभियान सञ्चालन गरी खोप लगाएको हो । रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बाललालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धको खोप प्रदान गरिन्छ ।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्दै गई दादुरा रुवेलाको महामारीसमेत देखापरेकाले मन्त्रालयले बालबालिकालाई छुटेको खोप दिन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?