सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिबको निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताएका छन् । हेलम्बु–३ स्थित पाल्चोक खोनेपानी आयोजना उद्घाटन गर्ने क्रममा मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थमा कर बढाएर उक्त करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन लागेको बताएका हुन् ।
मन्त्री बस्नेतले गाउँबाट थुन्से, डोकोमा बोकेर अस्पताल पुगेका बिरामी खर्चको अभावमा त्यत्तिकै घर फर्कनुपरेको बाध्यता रहेको समेत बताए । त्यो बाध्यतालाई आफ्नो कार्यकालमा अन्त्य गर्ने उनले बताएका हुन् । ‘गरिबले सहज ढंगले उपचार पाउन सकेका छैनन जसोतसो अस्पताल पुगेपनि पैसाको अभावमा उपचार गर्न पाएका छैनन्,’ नेपालमा सुर्तिजन्य पदार्थमा निकै कम कर लागू भएको बताउँदै उनले भने, ‘अब सुर्तीजन्य पदार्थमा कर बढाउने हो त्यो कर जनताको उपचारमा लगाउने नै हो ।’
मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाए । साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसको लागि पनि पहल गर्नेसमेत बताए ।
कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समीरले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम हुने बताए । उनले आफूले सांसद भएदेखि नै प्रदेश सरकार समक्ष यहाँका समग्र समस्या अवगत गराउँदै आएको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता कान्छा लामा, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निमा लामा सहितले शुभकामना मन्तव्य राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया