अध्यक्ष तिमिल्सिनासँग राजदुत सुकको बिदाइ भेट

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले बिदाइ भेट गरेका छन्।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उनिहरुबीच दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा विचार–विमर्श भयो ।
सो अवसरमा दक्षिण कोरियाले नेपालमा आफ्ना विद्युतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरिएकामा धन्यवाद ज्ञापन गर्दै सवारी साधन उत्पादन गर्न र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सृजना गर्न आग्रह अध्यक्ष तिमिल्सिनाले गरेका छन् । धेरै नेपाली युवायुवतीलाई इपिएसमार्फत रोजगारीको अवसर दिएकामा धन्यवाद ज्ञापन गर्दै उनले नेपाल एयरलायन्सको कोरिया उडानका लागि पहल गरिदिन पनि जोड दिएका छन् ।
अध्यक्ष तिमिल्सिनाले उनलाई गणतन्त्र कोरियाको राजदूतका रुपमा नेपाल–कोरिया सम्बन्धलाई थप मजबुत, प्रगाढ र व्यापक बनाउन भूमिका निर्वाह गरेकामा धन्यवाद पनि दिएका छन् ।
त्यस अवसरमा  राजदूत सुकले नेपालमा लगानी मैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योग नेपालमा आउन सक्ने बताए । उनले दुवै देशबीच भविष्यमा उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गर्दै दुवै देशबीचमा सम्बन्ध प्रगाढ बनाउन अध्यक्ष तिमिल्सिनाले गरेका पहलका लागि आभार व्यक्त गरेका छन् ।  उनि  नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?