मनाङमा घर घरमा पशु स्वास्थ्य सेवा

लोकपथ
0
Shares

मनाङ । पशु स्वास्थ्य तथा बाँझोपन निवारण गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङले घर घरमा सेवा दिन थालेको छ ।

विज्ञ केन्द्रले यही वैशाख १५ देखि १७ गतेसम्म घर–घरमा पुगेर पशु स्वास्थ्य सेवाका लागि शिविर मार्फत सेवा दिएको हो ।जिल्लाको नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिकाका पशुपालक किसानको घरमा पुगेर पशु स्वास्थ्य सेवा दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिएका छन् । उनका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजना तथा राष्ट्रिय पशु प्रजनन कार्यालयको प्राविधिक सहयोग तथा स्थानीय तहको समन्वयमा सेवा प्रदान गरिएको हो ।

नासों गाउँपालिकाका ताचै, तिल्चे, ओडार र दानाक्युमा घरदैलोमा नै पुगी पशुको बाँझोपनसम्बन्धी विशेषज्ञ चिकित्सकद्वारा पशु स्वास्थ्यपरीक्षण गरी उपचार र परामर्श दिइएको प्रमुख कुशुमले बताएका छन् । उनका अनुसार ती क्षेत्रका १२ गाईको स्वास्थ्य परीक्षण र निकट भविष्यमा यसलाई कसरी उपचार गर्ने र कुन कुन समय तालिकामा कसरी उपचार गर्ने विषयमा परामर्श दिइएको थियो । गाईको परीक्षण गर्दा फ्लासिड पाठेघर, परसिस्टेण्ट कर्पस लिउटियमबाहेक कुनै पनि पाठेघरसम्बन्धी सङ्क्रमण नभएको र सबै पशुमा सन्तुलित आहाराको कमीका कारण पशु समयमा नब्याउन नसकेको पशु चिकित्सकको भनाइ छ ।

त्यस्तै चामे गाउँपालिकाअन्तर्गत पाँच गाईको परीक्षण गरिएकोमा कुनै पनि पाठेघरसम्बन्धी सङ्क्रमण नभएको र सन्तुलित पशु आहाराको कमीले पशु समयमा साँढे नखोज्ने समस्या देखिएको परीक्षणका क्रममा पाइएको उनले जानकारी दिएका छन् । मनाङ ङिस्याङ गाउँपालिकाका पशु प्रजननसम्बन्धी उपचारको लागि किसानको मागअनुसार लुलु गाई र चौंँरीमा प्रजनन सुधारको लागि औषधि वितरण गरिएको प्रमुख कुशुमले बताए ।

प्राविधिक परामर्श खास गरी बाँझोपनसम्बन्धी समस्यालाई निराणकरण र न्यूनीकरण गर्न दिइएको समय तालिका अनुसार कार्यान्वयन गरिने उहाँले बताउनुभयो । ६१ किसान परिवारले पालेका तीन सय ७९ पशुको उपचार गरिएको र २५ वटा पशुको स्थलगत रुपमा गोवर परीक्षण गरिएको भेटेरिनरी अस्पतालका प्रमुख कुसुमले बताए । यस कार्यक्रमवाट ६१ घरपरिवारले सेवा लिएको जानकारी भएको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख एवं सहसचिव डा जगदीश पाण्डेयले असल र अर्थपूर्ण पशुपालनमा पाँच खम्बे नीति जस्तो पशु आहारा, पशु प्रजनन, पशु स्वास्थ्य, पशु व्यवस्थापन र उत्पादित वस्तुको यथेष्ट बजारलाई विशेष मध्यनजर राखिनुपर्ने बताए । “पाँच खम्बे नीतिको उचित तवरबाट कार्यान्वयन गर्न सकिएमा किसानको आयस्तर वृद्धिमा सहयोग पुग्नेछ”, उनले भने ।

समन्वय प्रमुख चीन घलेले मनाङ जस्तो दुर्गम हिमाली जिल्लामा विशेषज्ञ सेवा सहितको पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर स्थलगत रुपमा घर घरमा गएर सेवा दिइदा किसानलाई पशुपालनतर्फ आकर्षित गर्ने बताए । मौसम परिवर्तनसँगै पशुपालनमा पनि विभिन्न खालका रोग तथा सङ्क्रमण आउने भएकाले घर घरमा समय समयमा सेवा दिन सकेमा किसानलाई आकर्षित हुनेमा जोड दिए ।

नासो गाउँपालिकाका उपाध्यक्ष वेदबहादुर गुरुङले आज भन्दा ५० वर्ष अघि नेपालमा दुई लाखको हाराहारीमा याकचौँरी पालन भएकोमा अहिले आएर यसको सङख्या निराशाजनक तरिकाले घटिरहेको बताए । उनले हिमाली भेगमा याकचौँरी, भ्याङलुङ भेडापालनलाई राज्यको तर्फवाट विशेष खालका कार्यक्रम तथा बजेटको व्यवस्थापन हुनुपर्ने माग राखेका छन्। साथै पशुपालन व्यवसायमा पशुपक्षी बीमा अति नै आवश्यक भए पनि बीमा कार्यक्रम सम्बन्धित निकायको ध्यान नपुगेको बताए । विकट क्षेत्रका पशुको समय समयमा स्वास्थ्यपरीक्षण र गुणस्तरीय मासु उत्पादन गर्ने वातावरण तयार गरी निर्यातलाई प्रोत्साहन गर्न सके जिल्लाको आयस्तरमा टेवा पुग्ने स्थानीयवासीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?