प्रतिनिधिसभा बैठक : चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । 

आइतवार बसेको प्रतिनिधिसभा बैठकमा सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा विधेयकसम्बन्धी संसदको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेश गरेकी हुन् । 

गत भदौ १३ गते बसको संसदको बैठकले चिकित्सा शिक्षा विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि संसदको समितिमा पठाएको थियो । 

समितिले असोज ११ गते विधेयकमाथि परेका संशोधन र सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेश गर्न १० सदस्यीय उपसमिति गठन गरेको थियो ।

उपसमितिले १५ वटा बैठक गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्री, संशोधन पेश गर्ने सांसद र विज्ञसँग छलफल गरी गत पुस २३ गते समितिलाई प्रतिवेदन बुझाएको थियो । 

उक्त प्रतिवेदनलाई गत पुस १५ गते बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले बहुमतले पारित गरेको थियो । 

समितिबाट पारित भएको विधेयक सम्झौता विपरित भएको भन्दै पुस २५ गतेदेखि नै डा. गोविन्द केसीले इलामबाट अनसन शुरु गरेका छन् । 

उनले अनसन शुरु गरेको आज (आइतवार) पाँचौ दिन पनि जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?