नेविसंघको १२औँ अधिवेशन स्ववियु निर्वाचन पछि मात्र हुने

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको १२औँ  अधिवेशन स्ववियु निर्वाचन पछि मात्रै हुने भएको छ । 

त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त कलेजलाई फागुनमा स्ववियु निर्वाचन गर्न परिपत्र गरिसकेका कारण नेविसंघको १२औँ अधिवेशन स्ववियु निर्वाचन पछि मात्र हुने नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

विधानमा भएको व्यवस्थाअनुसार तोकिएको समयमा कार्यसमितिले अधिवेशन गर्न नसकेपछि माउ पार्टीले नै वैशाखमा सार्ने तयारी गरेको हो । 

उता तोकिएको मितिमा अधिवेशन नभएपछि नेविसंघ भित्रकै असन्तुष्ट पक्षले शुक्रवार पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएका थिए । राजीनामा दिनेमा नेविसंघका तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सह–महामन्त्री छन् ।  

राजीनामा बुझाउनेहरुमा उपाध्यक्षय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन् भने महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशी छन् । 

उपाध्यक्ष सञ्जीवकुमार यादवका अनुसार तोकिएको मितिमा अधिवेशन गर्न सकिएन, यस्तो अवस्थाले नेविसंघ चल्दैन, त्यसैले निकास दिनका लागि पार्टी सभापतिलाई संयुक्तरुपमा राजीनामा बुझाएको बताए । 

नेविसंघको महाधिवेशन गत भदौमा हुने भनिएको थियो । तर, नेविसंघको आन्तरिक विवादका कारण महाधिवेशन हुन सकेन् । त्यसपछि फेरी पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । 

पुनः थपिएको दुई महिनाको म्याद पनि यही माघ २ गते सकिँदैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?