काठमाडौं । नेपालमा बसेर क्रिश्चियन धर्म प्रचारमा संलग्न रहँदै आएका दक्षिण कोरियाली नागरिक योङ हो लीलाई गृह मन्त्रालयले निष्काशन गरेको छ ।
गृह मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै लीलाई एक वर्षका लागि निष्काशन गरेको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले लोकपथलाई जानकारी दिए ।
लीले नेपालमा बसेर भिसा दुरुपयोग गरेको ठहर गरी निष्काशन गरिएको शाखा अधिकृत खेम राज सापकोटाले बताए ।
‘अध्यागनको अनुसन्धानका क्रममा लीले पर्यटक भिसामा बसेर धर्म प्रचार गरेको पाइयो,’ उनले भने, ‘सोही अनुसार उनलाई निष्काशन गर्नका लागि हामीले गृह मन्त्रालयलाई पत्राचार गर्यौँ सोही अनुसार गृह मन्त्रालयको सचिव स्तरीय निर्णयबाट उनी निष्काशित भएका हुन् ।’
लीले नेपालमा बसेर ईशाई धर्म प्रचार गरेको बारेमा सप्रमाणसहित लोकपथले सार्वजनिक गरेको थियो । त्यसलगत्तै अध्यागमन विभागले प्रहरीलाई पत्राचार गरी पक्राउ गर्न निर्देशन दिएको थियो ।
सोही बमोजिम ७ चैतमा प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको थियो ।
सन् २०१२ देखि नेपालमा बस्दै आएको उनले नेपालमा विभिन्न विजनेश गर्ने भन्दै उद्योग विभागमा कम्पनीसमेत दर्ता गराएका छन् । चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर १२ मा त्रिएक फेसन गार्मेन्ट कम्पनी दर्ता गरेका छन् । यद्यपि, त्यो कम्पनी अहिले बन्द छ ।
त्यसअघि सन् २०१३ मा सामाखुसीमा सौल इन्टरनेशनल इन्स्टिच्युट खोलेका थिए । त्यसबाट धर्म प्रचार गरिरहेको चाल पाएपछि उक्त कम्पनी नै खारेज भएको थियो ।
झण्डै ११ वर्षअघि नेपालमा क्रिश्चियन धर्म प्रचार गर्ने जिम्मेवारी लिएर आएका लीको पछिल्लो समय झनै बढी सक्रियता बढेको देखिन्थ्यो । नेपालमा व्यवसाय गर्ने भन्दै विजनेश भिसा लिने र, त्यसैको आडमा नेपाल बसेर धर्म प्रचार गरिरहेका थिए ।
ली हिजो सोमबारको कोरियन एयरको विमानमार्फत कोरिया फर्किसकेको सापकोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया