चितवन–२ मा जगन्नाथको समर्थन रवि लामिछानेलाई

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेस चितवनका पूराना नेता जगन्नाथ पौडेलले उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने भएका छन् ।

१० वैशाखमा हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । सो क्रममा नेता पौडेलले देशले छोटो समयमा रुपान्तरण खोजेको भन्दै स्वतन्त्र पार्टीले देशलाई निकास दिन सक्ने तर्क गरे ।

‘छोटो समयमा देशले रुपान्तरण खोजेको छ । त्यो रुपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ र त्यो टिममा ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरुको समूह हो ।’ उनले भने, ‘त्यो भएको हुनाले उहाँहरुलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ ।’

पत्रकारहरुसँगको कुराकानीमा उनलाई पार्टी नै प्रवेश गर्न खोजिएको हो कि भन्ने प्रश्नमा उनले भने,‘अहिले समर्थनमात्र ।’

पौडेलले यसअघि स्थानीयमा भरतपुर महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । भने संघीय निर्वाचनमा पनि चितवन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

१० वैशाखमा हुने निर्वाचनमा कांग्र्रेसको तर्फबाट जीतनारायण श्रेष्ठ, स्वतन्त्र पार्टीका तर्फबाट रवि लामिछाने र एमालेको तर्फबाट रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?