जाँदाजाँदै स्वर्णिमले लेखे– ‘०८० को शुरुवातसँगै नयाँ भूमिकाको साथ आउनेछु’

लोकपथ
98
Shares

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन् ।

५० वर्षदेखि पारिवारिक विरासत जोडिएको पार्टीबाट अलग रहेको बताउँदै उनले २०८० सालको शुरुवातसँगै नयाँ भूमिकाको साथ देखिने बताएका छन् ।

साथै कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेकाहरुलाई समेटेर नयाँ वैकल्पिक लोकतान्त्रिक पार्टी बनाउने समेत बताएका छन् ।

‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ’यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो ।’

त्यस्तै आफूले ३ दशकदेखि परोक्ष र १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना बनाउने कुरामा सहयोग गरेको उल्लेख गर्दै सुशील कोइराला र शेरबहादुर देउवाले दिएको राष्ट्रिय योजना आयोगको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताए ।

‘त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ ।’ उनले भनेका छन् ।

वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजी लगायतले नेतृत्व गरेको दलमा अहिले परिवारवाद हाबी भएको आरोप लगाए ।

‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’ उनले भनेका छन् ।

यता कांग्रेस छाडेसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ बाट उम्मेदवार बनाउने चर्चा चलेको छ । रास्वपाले उनलाई प्रस्ताव गरे पनि उनले भने सो विषयमा भने कुनै प्रतिकृया दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?