काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेका छन् ।
उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उम्मेदवार बनाउने चर्चाकाबीच वाग्लेले पार्टी छाडेको घोषणा गरेका हुन् ।
एक पत्र सार्वजनिक गर्दै कांग्रेस नेता डा. शेखर कोइरालालाई सम्बोधन सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको हेपाइको कारण पार्टीमा रहन नसकेको बताएका छन् ।
‘प्रिय दाइ, हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’ उनले भनेका छन् ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेताद्वय डा. शेखर कोइराला र डा. गोविन्दराज पोखरेललाई स्मरण गर्दै डा. वाग्लेले पार्टीमा ४ नेताको नेतृत्व भएमा कुनै न कुनै दिन सहकार्य गर्ने समेत बताएका छन् ।
‘कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’
यस्तो छ स्वर्णिमको पत्र
प्रिय दाइ,
हजुरहरूको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।
अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहे। यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ ।
काँग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।
स्वर्णिम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया