स्वर्णिम वाग्लेलाई तनहुँ–१ बाट उम्मेदवार बन्न रास्वपाको प्रस्ताव, कांग्रेसमा तनाव

लोकपथ
217
Shares

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको खोजी गरिरहेको छ ।

सो क्रममा रास्वपाले उपनिर्वाचन हुने मध्ये तनहुँ क्षेत्र नं १ मा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई प्रस्ताव गरेको छ ।

आफूहरुले वाग्लेलाई प्रस्ताव गरेको र वाग्ले पनि सकारात्मक रहेको रास्वपाका प्रवक्ता मुकुल ढकालले लोकपथलाई जानकारी दिए ।
‘हामीले तनहुँ १ बाट उपनिर्वाचनको उम्मेदवारका लागि डा. स्वर्णीम वाग्लेलाई प्रस्ताव गरेका छौँ ।’ उनले भने, ‘उहाँ पनि सो कुरामा सकारात्मक देखिनुभएको छ ।’

वाग्लेसँग थप छलफल भइरहेको समेत उनले बताए ।

यता वाग्ले आजै रास्वपाका एक सांसदसँग तनहुँ पुगेका छन् । वाग्लेले त्यहाँका पार्टी कमिटीसँग छलफल गरिरहेको स्रोतले जानकारी दिएको छ ।

कांग्रेस निकट मानिने वाग्लेलाई रास्वपाले उम्मेदवार बनाउने भएसँगै कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । यसअघि मंसिरको निर्वाचनमा वाग्लेलाई नै उम्मेदवार बनाउन कांग्रेसका महामन्त्री गगनकुमार थापा लागेका थिए । सभापति शेरबहादुर देउवा सकारात्मक नभएपछि उनी प्रचारमा भने मज्जैले खटिएका थिए ।

वाग्लेलाई रास्वपाले उम्मेदवार बनाउने सूचना बाहिरिएसँगै महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा वाग्लेलाई रोक्ने प्रयासमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?