सरकारलाई जति घच्घच्यो उतिनै बेवास्ता गर्छ : राजपा अध्यक्ष महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकारलाई जति घच्घच्यो उति नै बेवास्ता गरेको आरोप लगाएका छन् । 

आइतवार पत्रकारसँग कुरा गर्दै अध्यक्ष महतोले भने, ‘बारम्बार हामी एकै मुद्दा लिएर सरकारलाई घच्घच्याई रहेका छौँ । सरकार ईग्नोर गरेर अघि बढिरहेको छ, यसरी कहिलेसम्म चल्छ ?’ 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आफूहरुको मागलाई सम्बोधन गर्न बेवास्ता गरेको आरोप लगाएका छन् । साथै सरकारले आफूहरुको मागलाई सामान्य ढंगले सोचेकाले थप समस्या सृजना हुने बताए । 

संविधान संशोधन, आन्दोलनका क्रममा पक्राउ परी मुद्दा चलाइएको मुद्दा फिर्ता, मधेश आन्दोलनका क्रममा घाइते भएकाको उपचार तथा निर्वाचित सांसद रेशम चौधरीको शपथका विषयमा सरकार तत्परता नदेखाएको अध्यक्ष महतोको ठहर छ । 

गत मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आफूहरुको माग प्रति ठोस कदम नचाले सरकारविरुद्ध कडा सडक संघर्ष गर्ने राजपाले चेतावनी दिएका थिए । उता प्रधानमन्त्री ओलीले राजपासँग एक साताको समयावधि मागेका थिए । 

राजपासँग मागेको एक साताको समयावधि यही मंगलवार सकिदैछ । यस समयावधिमा सरकारबाट ठोस जवाफ नआए पार्टीको बैठकबाटै आन्दोलनका कार्यक्रम शुरु गर्ने महतोले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?