बनेपा । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताएका छन् ।
शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उनले सो कुरा बताएका हुन् ।
उनले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताए । ‘संविधान र कानून बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘अब त्यसलाई व्यवहारमा उतार्न हामी अगाडि बढिरहेका छौँ ।’
स्थानीय तहले पनि सेवासम्बन्धी ऐन बनाएर कर्मचारी भर्ती गर्ने अधिकार पाउने उल्लेख उल्लेख गर्दै उनले राष्ट्रसेवक कर्मचारीले देशको कुनै पनि भागमा सरकारले खटाएअनुसार जानुपर्नेमा जोड दिए ।
‘खटाएअनुसार जान तयार नहुने कर्मचारीलाई राज्यले बिदा गर्नुपर्छ र नयाँ कर्मचारी भर्ती गरेर भएपनि संविधान कार्यान्वयन गर्नेतिर लाग्नुपर्छ’, अध्यक्ष प्रचण्डले भने, ‘अहिले ऐनहरु बन्दैछन् र कर्मचारीलाई स्थानीय तह, प्रदेश र सङ्घ सबैतिर समायोजन गर्ने नयाँ प्रक्रिया शुरुआत हुँदैछ ।’
उनले आम नागरिकलाई नयाँ व्यवस्थाको कार्यान्वयनमा आ-आफ्ना ठाउँबाट योगदान पुर्याउन आग्रहसमेत गरे । लाखौँ नेपालीको त्याग, मेहनत र समर्पणबाट ल्याएको व्यवस्था भएकाले त्यसलाई व्यवस्थित गर्न सरकार लागिपरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया