गरीबलाई धनी बनाउँछु, धनीलाई थप धनी हुनबाट रोक्दिन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोही गरीब नरहने बताएका छन् । 

शुक्रवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)का तेस्रो श्रम संसदको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

त्यस्तै हालै मात्र घोषणा गरेको योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त हुने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं ।’

‘मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो’ प्रधानमन्त्री ओलीले भने, ‘धनीलाई थप धनी हुनबाट नरोकी गरीबलाई धनी बनाउछौँ ।’ 

त्यस्तै फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि चिसोले कठ्यांग्रिएर गरीब नागरिकको मृत्यु नहुने दाबी समेत गरेका छन् । 

उनले शीतलहरबाट तराईका गरिबलाई जोगाउन तयारी भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘शीतलहरबाट जोगाउनका लागि सुरक्षा निकाय, स्थानीय तह प्रशासन, निजी क्षेत्र सबैसँग समन्वय गरिएको छ, यस वर्षदेखि चिसोले कठ्यांग्रिएर कसैले मर्नुपर्दैन ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?