राजपामा किचलो : कमजोर बन्दै मधेशका मुद्दा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)मा अध्यक्ष मण्डलको संयोजक परिवर्तनसँगै किचलोको संकेत देखिएको छ ।

संयोजक परिवर्तन गरेको एक महिना पूरा हुँदा पनि बैठक बस्न सकेको छैन भने सरकारलाई दिने भनेको दबाबमा पनि नम्रता देखिएको छ । यसअघि सरकारविरुद्ध निकै आक्रामक देखिएको राजपा अहिले भने नरम भएको हो । 

यसबाट सहजै के भन्न सकिन्छ भने राजपामा अन्तरिक किचलो बढ्दै गएको छ । यसका संकेतहरु राजपाको पछिल्लो गतिविधिबाटै स्पष्ट हुन्छ । पछिल्लो उदाहरण हेर्ने हो भने गत मंगलबार बोलाइएको बैठक बस्न सकेन ।

बैठक अन्तिम समयमा स्थगित भयो कारण देखाइयो, महन्थ ठाकुरको स्वास्थ्य । तर अन्तिम समयमा आएर बैठक स्थगित भएको यो पहिलो घटना भने होइन, संयोजक परिवर्तन भएपछि पटकपटक भइसक्यो । संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतो नयाँ संयोजक बनेपछि पार्टीमा विवाद चुलिएको हो ।

यसमा महतो पक्षका नेताहरु ठाकुरको असन्तुष्टिलाई जोडेर प्रतिक्रिया दिन्छन् र भन्छन्, ‘ठाकुर र उनी पक्षका नेताहरुले संयोजक परिवर्तनलाई स्भाविक रुपमा लिन नसक्दा पार्टीमा गम्भीर बैठक नै हुन सकेको छैन ।’

‘खासमा ठाकुरलाई संयोजकबाट हट्नुपरेकोमा निकै ठूलो पीडा छ’, एक नेता भन्छन्, ‘उहाँले सहज रुपमा लिनै सक्नुभएको छैन ।’

यसरी सुरु भयो विवाद 
राजपाले गत मंसिर ५ गतेदेखि लागू हुने गरी अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्यो । मंसिर ४ गतेको अध्यक्ष मण्डलको बैठकले नयाँ संयोजकको रुपमा अर्का अध्यक्ष राजेन्द्र महतो चयन भए । 

निर्णय बहुमतबाट भएको थियो । यद्यपी निर्णयमा अनिल झाले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । राजपा गठन भएको झन्डै २० महिनापछि भएको यो परिवर्तनलाई ठाकुर पक्षीय नेताहरुले स्वभाविक रुपमा लिन सकेनन् । कतिपय नेताहरु त यसलाई ठाकुरमाथि ‘कू’ भएको प्रतिक्रिया समेत दिए । 

संयोजक परिवर्तनसँगै ठाकुरले सो परिवर्तन नरुचाएको विभिन्न संकेतहरु दिन थाले । परिवर्तनबाट असन्तुष्ट नेताहरुमा पूर्व तमलोपाका नेताहरु छन् । उनीहरुको असन्तुष्टि सम्बोधन गर्न भन्दै आफ्नो असन्तुष्टिलाई घुमाउरो रुपमा महतोलाई संकेत गरिरहेका छन् । जसका कारण राजपामा बैठक बस्नै सकस हुँदै आएको छ ।

महतो संयोजक भएको एक महिना बितिसक्दा समेत एउटा पनि बैठक बस्न सकेको छैन । गत मंसिर ६ र  ७ मा बस्ने तयारी गरिएको बैठक स्थगित भयो । १० गते पनि स्थगित हुँदा मंसिर १४ का लागि बोलाइएको बैठक पनि बस्न सकेन । 

अस्वस्थ भएको भन्दै नयाँ दिल्ली जान भएका ठाकुर फर्केपछि पनि बैठक बस्नको लागि पहल हुँदै आएको तर बस्न सकेको छैन । 

कमजोर बन्दै मधेसका  मुद्धा
राजपाभित्र किचलो सुरुभएसँगै मधेशमा मुद्धा पनि कमजोर हुने कतिपयको बुझाई छ । 

आफैमा एकजुट हुन नसक्दा उसले उठाएको मुद्धा ओझेलमा पर्ने देखिएको हो । विवादकै कारण निर्वाचनताका जनतालाई दिएको आश्वासन र त्यसपछि सरकारसँग राखेको माग कमजोर उन्मुख बनेको छ । 

राजपाले सरकारसँग सहमति अनुसार संविधान संशोधन, प्रतिनिधिसभामा निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीको सपथ, राजनीतिक आन्दोलनका क्रममा परी जेल चलान भएका र अनावश्यक मुद्दा लगाइएका आफ्ना पार्टीका कार्यकर्तालाई रिहा तथा माफी दिनुपर्ने माग अघि सारेको छ ।

तर पछिल्लो समय यी सबै मुृद्धामा राजपा कमजोर देखिन्छ, यसको मुख्य कारण पार्टी भित्रको विवाद नै हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?