व्यवसायी सुमार्गीको खातामा रोक्का नगर्न राष्ट्र बैंकलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको बैंक खातामा रोक्का नगर्न अन्तरिम आदेश जारी गरेको ।

सर्वोच्च अदालतले व्यवसायी सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगको बैंक खातामा जम्मा भएको रकम बिना कुनै रोकटोक झिक्ने अनुमति दिन नेपाल राष्ट्र बैंकका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

मंगलवार प्रधानन्यायाधीश दीपकराज जोशीको एकल इजलासले ‘सुविधा र सन्तुलन’को कारण देखाई यही पुस १४ गतेसम्म खाता सञ्चालनमा अवरोध नगर्न सरकारको नाममा अन्तरिक आदेश जारी गरेको हो । 

प्रधानन्यायाधीश जोशीको एकल इजलासले गरेको यो निर्णयसँगै बैंकले रोक्का गरेको व्यवसायी सुमार्गीको करिब ८४ करोड (७.५ मिलियन अमेरिकी डलर) फुकुवा भएको छ । 

सर्वोच्चको आदेश भनिएको छ ‘निवेदकका तर्फबाट माग भएको अन्तरिम आदेशको सम्बन्धमा विचार गर्दा सो सम्बन्धमा दुवै पक्षबीच छलफल गरी निर्णयमा पुग्न उपयुक्त हुने देखिँदा सोका लागि निवेदकलाई मिति २०७५–०९–२४ को पेसीको तारेख तोकी उक्त दिन हुने छलफलमा उपस्थित हुन भनी विपक्षीलाई समेत सूचना दिई नियमानुसार पेस गर्नू । सो सम्बन्धी छलफल भई निर्णय नभएसम्मका लागि सुविधा सन्तुलनका दृष्टिकोणले निवेदन माग बमोजिम निवेदक उद्योगको खातामा रहेको रकम निवेदक उद्योगको आवश्यकता र समयतालिका बमोजिम निवेदक उद्योगले माग गरेका बखत भुक्तानी दिनु दिलाउनु र सो सम्बन्धी खाता सञ्चालनमा अर्को आदेश नभएसम्म कुनै अवरोध नगर्नु नगराउनु भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) बमोजिम अल्पकालीन अन्तरिम आदेश समेत जारी गरिदिएको छ ।’

त्यस्तै यसअघि सुमार्गीको अर्को कम्पनी नेपाल स्याटेलाइट टेलिकमका नाममा रहेको २ अर्ब २० करोड रुपैयाँ पनि राष्ट्र बैंकले रोक्का गरेको थियो । सो रकम पनि सर्वोच्चको अन्तरिम आदेशबाटै फुकुवा भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?