काठमाडौं । शनिबारबाट शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा उपस्थित नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।
काठमाडौंमा केही गत महिना सम्पन्न भएको ‘एसिया प्यासिफिक सम्मेलन’ मा नेकपाका शिर्षनेताहरू, प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री माधव नेपाललगायतको संलग्नताले पार्टी बदनाम भएको भन्दै नेकपा स्थायी कमिटी सदस्यहरूले चर्को आलोचना गरेका हुन् ।
उनीहरुले यस विषयमा आत्मालोचना गर्न समेत दबाब दिएका छन् ।
साथै उनीहरुले जारी स्थायी कमिटी बैठमा ‘आइन्दा यस्तो गल्ती नगर्न चेतावनी नै दिए ।
गत महिना राजधानीमा सम्पन्न भएको ‘एसिया प्यासिफिक सम्मेलन’मा तीन दिन होटलमै गएर बसेको विषयलाई लिएर प्रधानमन्त्री ओलीको चर्को आलोचना हुँदै आएको छ ।
त्यस्तै पूर्वप्रधानमन्त्री नेपाल भने सम्मेलनको मुख्य हर्ताकर्ता नै थिए ।
‘यो सम्मेलनमा सरकार र नेताहरू संलग्न हुने कुरा गलत भयो, यसमा आत्मालोचना गर्नुपर्छ,’ बुधबारको बैठकमा नेता सुरेन्द्र पाण्डेले भने, ‘पहिले चोखिन सुनपानी छर्किने गरिन्थ्यो, त्यस्तै अहिले हामी यसबाट चोखिनुपर्छ, जो–जो संलग्न भएका छौं, ती सबैले आत्मालोचना गरौं । नभए जनताले यसको हिसाबकिताब राख्छन् ।’
त्यस्तै अर्का नेता रघुजी पन्तले पनि यसै विषयलाई लिएर सरकारको आलोना गरेका थिए । उनले भने ‘प्रधानमन्त्री पिस फेडेरेसनको कार्यक्रममा संलग्नता आपत्तिजनक भयो ।’
‘प्रधानमन्त्री धर्मका नाममा गलत गतिविधि गर्ने एक व्यक्तिबाट अभिनन्दित हुँदा नेपाली जनताको सांस्कृतिक र धार्मिक आस्थाप्रति चोट पुग्यो’ उनले भने ।
यही सम्मेलनलाई लिएर स्थायी कमिटी सदस्य भीम आचार्यले सरकार र कम्युनिष्ट पार्टीका नेताहरुले विवादस्पद संस्थालाई बोकेर हिँड्नु गलत भएको बताएका छन् भने भीम रावलले एसिया प्यासिफिक सम्मेलन र युनिभर्सल पिस फेडेरेसनका विषयमा तीन पृष्ठ लामो लिखित धारणा नै प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया