नेकपाको स्थायी कमिटी बैठक शुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ । 

पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन र नेता बामदेव गौतमको फरक मतमाथि छलफल हुनेछ । शनिबार बसेको बैठकमा अध्यक्षद्धयको तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । तर, नेता गौतमले फरक मत राखेका छन् ।

उनले एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी चलाउनुपर्ने लगायतका प्रस्ताव अघि सारेका छन् ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षद्वयको साझा दस्तावेजमाथि नेता वामदेव गौतमले फरक प्रस्ताव राखेका थिए ।

उनको फरक मत सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ । बैठकमा दुवै प्रतिवेदन, पार्टीको तल्लो तहको एकीकरण र नेता गौतमले राखेको फरक प्रस्तावबारे पनि छलफल गरिने नेता देव गुरुङले जानकारी दिए ।

विधानमा तीन-तीन महिनामा बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक ५ महिनाभन्दा बढी अवधिमा शनिबार बसेको थियो । यसअघि असार २१ गते छोटो समयको लागि बैठक बसेको थियो ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गत जेठ ३ गते एकता भए पनि तल्ला कमिटीको एकता भइसकेको छैन ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?