प्रस्तावित प्रधानन्यायाधीश जबराविरूद्ध उजुरी आह्वान

काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध उजुरी आह्वान गरिएको छ ।

आइतबारको संसदीय सुनवाइ समितिको बैठकबाट प्रस्तावित प्रधान न्यायाधीशमाथि सुनवाइ सुरु भएसँगै समिति सोमबार उजुरीको आह्वान गरेको हो । जबराविरूद्ध पुस ११ गतेसम्म उजुरी दिन सकिने समितिले जनाएको छ ।

यसअघि गत बिहिबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाइ गर्न समितिलाई पत्राचार गरेको थियो । सोही पत्राचारमाथि छलफल गर्दै समितिले प्रधानन्यायाधीशमा सिफारिस जबराविरूद्ध उजुरी आह्वान गरेको हो ।

उजुरीकर्ताहरुले आफ्नो नाम, थर, वतन र सम्पर्क उल्लेख गर्नुपर्ने हुन्छ तर ती सबै गोप्य राख्न चाहनेका लागि पनि विशेष व्यवस्था गरिएको छ । समितिले जबराको सुनुवाइ चित्त बुझे प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गर्नेछ । 

संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण पुस १७ गतेबाट अवकाश पाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?