क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदै

लोकपथ
70
Shares

काठमाडौं । थुनामा रहेका क्रिकेटर एवं नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा जेलमा रहेका क्रिकेटर लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएपछि आज थुनामुक्त हुन लागेका हुन् ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलाशले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नुपर्ने भएकाले उनी बिहीबार छुट्न सकेका थिएनन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई आज थुनामुक्त गरिने बताएका छन् ।

उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेकाले काठमाडौं अदालतबाट पत्र प्राप्त भएपछि मात्र लामिछाने थुनामुक्त हुने उनले बताए ।

नाबालिकालाई बलात्कारको आरोपमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएयता उनी केन्द्रीय कारागारमा छन् । जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

सन्दीप आफूलाई नगरकोट घुमाएर काठमाडौंको गौशालास्थित एक होटलमा ल्याएर बलात्कार गरेको उजुरी एक नाबालिकाले गत भदौ २१ गते गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएलगत्तै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?