नेपाल बंगलादेश ऊर्जा कार्यदल बैठक: विद्युत् व्यापारका लागि भारतसँग आ–आफ्नो तर्फबाट पहल गर्ने

काठमाडौं । नेपाल–बंगलादेशबीच बनेको ऊर्जा कार्यदलको काठमाडौंमा बसेको पहिलो बैठकले विद्युत् व्यापारका लागि भारतसँग आ–आफ्नो तर्फबाट पहल गर्ने सहमति गरेको छ । 

विद्युत् व्यापारका लागि भारतीय भूमिका आवश्यक भएको भन्दै भारतसँग आआफ्नो तर्फबाट पहल गर्ने सहमति गरेको हो ।

त्यस्तै सोमवार मंगलवार काठमाडौंमा बसेको बैठकले अन्तरदेशिय प्रशारण लाइनसम्बन्धी त्रिपक्षीय व्यवस्था गर्नका लागि दुवै देशले आ–आफ्नो तर्फबाट प्राथमिकताका साथ भारतसँग सो विषय उठाउने सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ । 

बंगलादेशले नेपालबाट विद्युत् खरिदका लागि चासो देखाउँदै आएको छ । तर, आफ्नो ऊर्जा संकट निवारणका लागि नेपालबाट विद्युत् लैजान बंगलादेशलाई भारतीय सहकार्य आवश्यक छ ।

साउन २५ गते नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा आपसी सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीअनुसार दुवै देशका सचिव र सहचिवस्तरीय ऊर्जा संयन्त्र गठन भएको हो ।

सोमबार दुवै देशका सहसचिवस्तरीय संयन्त्रले ५ वटा मुद्दामा छलफल गरेको थियो । 

सहसचिवस्तरीय संयन्त्रमा नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको सम्भावना, नेपालमा लगानी सम्भावना, दुई देशबीचको अन्तरदेशीय प्रसारण लाइनको सम्भावना, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट बंगलादेशले आयात गर्ने ५ सय मेगावाट विद्युत्को विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाइएको छ ।

त्यस्तै मंगलवार बसेको सचिवस्तरीय संयन्त्रले दुवै देशका प्राविधिक सम्मिलित संयुक्त प्राविधिक टोली गठन गर्ने सहमति गरेको छ । साथै नेपालमा लगानीयोग्य सम्भावित जलविद्युत् आयोजनाहरूको पहिचान गर्न दुवै देशबाट तीन–तीन सदस्य रहने गरी संयुक्त प्राविधिक टोली समेत गठन गर्ने सहमति भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?