सिरहा । सिरहाको सगरमाथा मावि कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि अहिले इलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ । शिक्षिकाको लापरवाहीका कारण सिरहाको मिर्चैया नगरपालिका-६ की १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको भन्दै विद्यार्थीले गरेकाे प्रदर्शन तनावग्रस्त बनेको हो ।
गत शुक्रबार पेट दुखेपछि सिर्जनाले औषधि खान शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । शिक्षिका अम्बिकाले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिर्जनाको अवस्था गम्भीर भएको थियो । उनलाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लगिए पनि उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको थियो ।
शिक्षिकाको लापरवाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थी पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् । निकै आक्रोशित विद्यार्थीले ईलाका प्रहरी कार्यालय मिर्चैयामा ढुंगामुढा गरेका छन् ।
ढुंगामुढाबाट कार्यालयमा क्षति पुगेको र पाँच जना प्रहरी घाइते भएको मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले लोकपथलाई जानकारी दिए ।
‘उक्त स्कुलको फाउन्डर प्रधानाध्यापक र शिक्षिकासँग अनुसन्धान गरिरहेका छौं । विद्यार्थीले ढुंगामुढा गरेपछि हामीले तीन राउण्ड टियर ग्याँस प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिएका छौं । अहिले अवस्था सामान्य छ,’ डिएसपी ओलीले बताए ।
डिएसपी ओलीका अनुसार हाल पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आइसकेको छ र ईप्रका अगाडी पनि अवस्था सामान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया