काठमाडौं । काठमाडौं महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावरको निर्माण सम्झौंता अवधि सकिएको चारवर्ष हुँदा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीको लापरबाहीले निर्माण सम्झाैंता सकिएको चार वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन नसकेको हो ।
२३ रोपनी पाँच आना क्षेत्रफल (जग्गा) मा निर्माण भइरहेको भ्यूटावर निर्माणका लागि वि.सं.२०७१ फागुन २२ मा काठमाडौं महानगर र जोइन्ट भेन्चर्स जलेश्वर, स्वच्छन्द र बिकोइ बिल्डर्स प्रालिबीच निर्माण सम्झौंता भएको थियो । वि.सं. २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार २०७५ फागुनभित्र कम्पनीले भ्यूटावरको निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
निर्माण सकाउनुपर्ने अवधि नै सकिएको चार वर्ष भइसक्यो । तर, कम्पनीले भने निर्माण सकाएको छैन । यस अवधिमा संरचना निर्माणकै काम सकिएको छैन भने सुपर स्ट्रक्चर (बाहिर देखिने स्वरुप) त बाँकी नै छ । भ्यूटावरको दुई तलाको बेसमेन्ट र त्यसमाथि ९ तलाको संरचना बनेको छ ।
सम्झौंताको अवधि सकिएको चार वर्ष पुग्न लाग्दा पनि काम सम्पन्न नहुनुमा निर्माण कम्पनी दोषी रहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १७ का वडा अध्यक्ष नवीन मानन्धर बताउँछन् । निर्माणाधिन भ्यूटावरको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीमाथि कारबाही गर्ने वा निर्माणका लागि म्याद थप्ने भन्नेमा महानगरको बैठकले निर्णय गर्ने प्रवक्ता मानन्धरले बताए ।
२०७३ साउन ३० गते काठमाडौं महानगरपालिकाबाट निर्माण कार्यादेश पाएको जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीले २०७५ फागुनभित्र ३२ तले भ्यूटावर निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, वि.सं. २०७२ को भूकम्पपछि सम्झौंता शर्तका आधार परिवर्तन गरी १२ तला मात्र बनाउने गरी नक्शा पारित गरियो ।
२०७२ कात्तिक २५ गते शिलान्यास गरिएको भ्यूटावरभित्र सिनेमा हल, सपिङ मलदेखि टर्मिनलको व्यवस्था हुने बताइएको छ । जग्गाको ४० प्रतिशत भूभागमा भ्यूटावर भवन बन्दैछ ।
यता, जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनी कम्पनीका सञ्चालक मनोज भेटवाल भने काठमाडौ महानगरपालिकाले गरेका प्रतिबद्धता पूरा गरे एक/डेढ वर्षभित्र सबै काम सकाइने तर्क गर्छन् । भेटवालले भ्यूटावर निर्माणका लागि १२ तलाको नक्शा पारित भएको र त्यसभन्दा माथिल्लो तलाको नक्शा पारित गर्नसमेत बाँकी रहेको उनले बताए ।
भूकम्पपछि १२ तला मात्र बनाउने गरी सम्झौंता भए पनि भेटवाल भने ३२ तला नै निर्माण गरिने दाबी गर्छन् । अहिलेसम्म ५ अर्ब लागत भएको र लागतको ७० प्रतिशत काम सम्पन्न भएको उनको दाबी छ । आगामी डेढ वर्षभित्र काठमाडौं भ्यूटावर सञ्चालनमा ल्याउने संकल्प गरिरहेको कम्पनीको प्राथमिकतामा व्यावसायिक भवन परेको थियो ।
काठमाडौं महानगरले भने शुरुमा बस टर्मिनल बनाउनुपर्ने बताउँदै आएको छ । महानगरका सहप्रवक्ता एवं सार्वजनिक–निजी साझेदारी इकाइका निर्देशक महेशकुमार काफ्लेले काठमाडौं महानगरको सुरुवाती स्ट्रक्चरअनुसार भ्युटावरको काम निर्माण नभएको बताए । उनले बहुतले र बहुउद्देश्यीय काठमाडौं टावर बनाउने योजना २०७२ बैशाख १२ मा गएको भूकम्पपछि परिवर्तन गरिएको बताए ।
समयमै सम्पन्न हुन नसक्नुमा कोभिडको कारण पनि रहेको उनको भनाइ छ । शुरूमा २ अर्ब लागतको स्ट्रक्चर भएपनि अहिलेसम्म झण्डै छ अर्ब लागतमा निर्माण भइरहेको उक्त भ्यूटावरको नक्शा पारित गर्ने र निर्माण अवधिसमेत गरी २ वर्षभित्र सञ्चालनमा ल्याउने तयारीमा महानगरपालिका रहेको उनले बताए ।
काठमाडौं घोषणा २०६८ मा महानगरको स्रोत परिचालन तथा सार्वजनिक साझेदारीमा पुरानो बसपार्कलाई विकास र व्यवसायीकरण गर्न निजी क्षेत्रसँग खुला प्रतिस्पर्धाद्वारा व्यावसायिक साझेदारी गर्न उल्लेख गरेको छ । महानगरका निर्देशक धुव्र काफ्ले भन्छन्, ‘बहुतलीय, बहुउद्देश्यीय काठमाडौं टावर बनाउने योजना काठमाडौं घोषणामा समेटिएको थियो ।
त्यहीअनुसार पुरानो बसपार्कलाई सिटी बसपार्कका रूपमा सञ्चालन गर्न काठमाडौँ भ्यूटावरको नाम दिइयो ।’ उनले चक्रपथ वरिपरिका साना तथा ठूला सवारीसाधनका लागि सुविधासम्पन्न बसपार्क बनाउने मुख्य उद्देश्यसहित भ्यूटावर निर्माणको योजना सुरु भएको बताए । यात्रुले खोजेको सबै सेवासुविधा सिटी बस टर्मिनलको उद्देश्यसहित भ्यूटावरको नाम दिइएको हो ।
तर, समयमै सम्झौताबमोजिम निर्माण सम्पन्न गर्न नसक्नु निर्माण कम्पनी तथा ठेकदारको लापरबाही तथा कमजोरी भएको वडा नं.२८ का वडा अध्यक्ष भाइराम खड्गीले बताए । सुविधासम्पन्न बसपार्क बनाउने मुख्य उद्देश्यसहित भ्यूटावर निर्माण थालिए पनि समयमै सम्पन्न नहुँदा त्यसले एकातिर आर्थिक भार बढेको छ भने अर्कातिर सञ्चालनपछि आउने लाभबाट महानगर बञ्चित भएको छ ।
हेर्नुहोस् भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया