नेकपाले टुंग्यायो प्रदेश कमिटीको एकीकरण, आजै नाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटी एकीकरण टुंग्याएको छ ।  

७ भौगोलिक र एक गैरभौगोलिक सहित ८ वटा प्रदेश कमिटीको नाम आज सार्वजनिक गर्ने भएको छ ।

महासचिव विष्णु पौडेलका अनुसार प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको नाम सचिवालयले टुंगो लगाइसकेकाले आज (आइतवार) सार्वजनिक गर्न लागिएको हो । तर, कार्यदलहरुले सिफारिस गरेका केही नाममा भने हेरफेर हुनसक्ने जनाइएको छ । 

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश कमिटी एकीकरणको अन्तिम टुंगो लगाएपछि नाम सार्वजनिक गर्ने तयारी रहेको महासचिव पौडेलले जानकारी दिए । 

त्यस्तै सात प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै तोकिइसकेका छन् भने अब सदस्यहरुको नाम सार्वजनिक भएसँगै प्रदेश कमिटीहरुले पूर्णता पाउने नेकपाले जनाएको छ ।

पेशागत, मजदूर, विद्यार्थी, युवा र उद्योगी व्यवसायीहरुको विशेष जिल्ला कमिटीलाई नेतृत्व गर्ने गरी विशेष प्रदेश कमिटी समेत गठन भएको छ भने नेकपाका ७७ जिल्ला कमिटी बाहेक उपत्यकाभित्र ५ वटा विशेष जिल्ला कमिटीसमेत गठन हुँदैछन् ।

त्यस्तै जिल्ला कमिटीका अध्यक्ष र सचिव केन्द्रबाट तोकेर सदस्यहरुको टुंगो लगाउने जिम्मा प्रदेश कमिटीलाई दिने सम्भावना रहेको महासचिव पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?