ललितपुर । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् ।
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन बिहीवार काठमाडौं आयपुगेका सेनसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ ।
शुक्रवार बिहान मङ्गलबजार पुगेका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक स्मारकको अवलोकन गरेका थिए । उनले हिरण्यवर्ण महाविहारमा पूजासमेत गरेका थिए ।
प्रधानमन्त्री सेनको स्वागतका लागि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, विभिन्न वडाका पदाधिकारीलगायत उपस्थित थिए । महानगरपालिका प्रमुख महर्जनले कम्बोडियाका प्रधानमन्त्रीले गरेको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “यहाँ आउनुभएका विशिष्ट पाहुनाले सम्पदाका बारेमा केही जानेर अरुलाई केही बुझाउनुहुनेछ ।”
प्रधानमन्त्री सेनले यहाँका सम्पदाका बारेमा उत्सुकतापूर्वक जानकारी लिएको प्रमुख महर्जनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया