काठमाडौं । शुक्रवारबाट शुरु हुने एसिया प्यासिफिक समिटमा सहभागी हुन विभिन्न देशका राष्ट्र प्रमुख तथा पदाधिकारीहरु काठमाडौं आउने क्रम जारी छ ।
क्रिस्चियन धर्मप्रचारक युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको कार्यक्रममा सहभागिताका लागि समोआ आइल्यान्डका राजारानी शुक्रवार काठमाडौं आइपुग्दै छन् । तर, उनीहरु कतिखेर काठमाडौं आइपुग्ने हो बारे बताइएको छैन ।
त्यसैगरी, मार्सल आइल्यान्डका राष्ट्रपति र पालाओ आइल्यान्डका राष्ट्र प्रमुख पनि आजै काठमाडौं आइपुग्दै छन् ।
साथै भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडा र पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी पनि आजै काठमाडौं आउने भएका छन् ।
सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ ।
त्यसमध्ये म्यानमारकी नेतृ आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीवार नै काठमाडौं आइसकेका छन् ।
सम्मेलनको उदघाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने दोस्रो सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, तेस्रो सत्रमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिका, चौथो सत्रमा जलवायु परिवर्तन र पाँचौ सत्रमा सञ्चार माध्यमको भूमिका विषयमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया