काठमाडौं–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार सचिवस्तरको बिहिबारको निर्णयअनुसार एक तह पदोन्नति भएका प्राविधिकतर्फका ६ जना प्रहरी अधिकृतहरुलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले संचारतर्फका प्राविधिक प्रहरी उपरीक्षक १ तथा प्राविधिक प्रहरी नायव उपरीक्षक ४ र आवास तथा भौतिक ईन्जिनियरिङतर्फका प्राविधिक प्रहरी नायव उपरीक्षक १ जनालाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै प्रहरी संगठनमा प्राविधिकतर्फको जिम्मेवारी झन बढी महत्वपूर्ण भएकोले अझ बढी जिम्मेवार र इमानदार भई निष्ठापूर्वक कार्य सम्पादन गर्न सदैव सचेत हुनुपर्ने बताए ।
दर्जा अनुसार जिम्मेवारी बढ्दै जाने भएकोले मातहत कर्मचारीको मनोवल उकास्न आफ्नो जिम्मेवारीलाई अझै बढी प्रभावकारी बनाएर संगठनको नीतिसँगै समाहित हुनुपर्ने उनले बताए ।
संगठन राम्रो बनाउन आफ्नो क्षमता र विज्ञता प्रयोग गरी विवेक र सकारात्मक सोच राखेर अगाडि बढे भविष्य उज्ज्वल हुनुको साथै इज्जत र प्रतिष्ठासमेत बढेर जाने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले जुन ठाउँमा खटियो त्यही ठाउँमा निपूर्णताकासाथ काम गर्न निर्देशन दिए ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्राविधिक प्रहरी उपरीक्षक दिवाकर सिंहले संगठनले सुम्पिएको जिम्मेवारीलाई अझै उर्जाशील भई उच्च मनोवलकासाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया