म्यानमारकी नेतृ सुकी र कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौं आउँदै

काठमाडौं । युनिभर्सल पिस फेडेरेसनको काठमाडौंमा बिहीवारदखि शुरु हुने ‘एसिया प्यासिफिक समिट २०१८’मा सहभागी हुन म्यानमारकी नेतृ आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउँदै छन् । 

नेकपाल सरकारको औपचारिर निम्तामा आउन लागेका उनीहरुलाई कारकेडमा विमानस्थलबाट होटलसम्म पुर्याउने व्यवस्था सरकारले गरेको छ । 

म्यानमारकी नेतृ सुकीको सुरक्षामा सबैभन्दा धेरै जनशक्ति खटाइँदैछ । सुकीलाई काठमाडौंमा शरण लिएर बसिरहेका रोहिंग्याका कारण सुरक्षा खतरा हुन सक्ने सुरक्षा निकायको अनुमान छ ।  

‘एसिया प्यासिफिक समिट २०१८’मा सहभागी हुन आउने अधिकांश विशिष्ट पाहुनालाई राजधानीको बौद्धस्थित ह्यात, बत्तीसपुतलीको द्वारिकाज, दरबारमार्गको याक एन्ड यती र कालीमाटीको सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ । 

यसैबीच कार्यक्रम उद्घाटन हुने शनिवार बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौंको सार्वजनिक सवारी सबैभन्दा धेरै प्रभावित हुने छ । 

पाहुनाको सुरक्षाका निम्ति सरकारले यसपटक पनि चार घेराको सुरक्षा प्रबन्ध गरेको छ । भित्री घेरामा सेना, त्यसपछि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर सुरक्षामा खटिनेछन् । पाहुनाको सुरक्षा र व्यवस्थापनमा मात्रै उपत्यकामा ३५ सय प्रहरी खटिने छन् ।

मोबाइलजस्तै डिभाइससहित बसेका प्रहरीले कार्यक्रमस्थल र सवारी स्थलको प्रत्यक्ष दृश्य खिच्नेछन्, जसको तत्काल विश्लेषण गरेर प्रहरीले सुरक्षा व्यवस्थापन मिलाउनेछ । 

प्रहरीले पहिलोपटक सुरक्षाका निम्ति ड्रोन प्रयोग गर्ने योजना बनाएको छ । कार्यक्रमस्थलको सुरक्षा चुस्त बनाउन २ वटा ड्रोन उडाउने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?