गृह मन्त्रालयमै विष सेवन गर्ने बर्हिगमित लडाकू अनसन बस्ने

काठमाडौ–बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा मंसिर ५ गते गृह मन्त्रालयमा विष सेवन गरेका कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सूरु गर्ने बताएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना मागहरुको बारेमा सरकार बेखबर बनेको आरोप लगाए ।

गणतन्त्र सेनानीसहितको घाईते अपाङगता राजपत्रमा प्रकाशित गरि प्रदान गर्नुपर्ने, जनयुद्धका घाईतेहरुलाई समय सान्दर्भिक सेवासुविधा प्रदान गर्नुपर्ने, घाईतेहरुको पुनः अवलोकन प्रतिशत निर्धारण खारेज गर्नुपर्ने, जनयुद्ध र जनआन्दोलनका घाईतेहरुलाई तत्काल औषधी उपचार खर्च प्रदान गर्नुपर्ने, घाईतेहरुको परिवार तथा बालबच्चाहरुको शिक्षा, स्वाथ्य र रोजगारको व्यबस्था गर्नुपर्ने लगायतका मागहरु अघि सारेर राजधानीको शान्तिवाटिकामा आमरण अनसन बस्न लागेको उनको भनाई छ ।  

उनले भने,‘लोकतन्त्र र गणतन्त्र ल्याउनमा हामीजस्ता हजारौं यूवाहरुले पु¥याएको योगदानलाई वर्तमान सरकार र तात्कालिन् माओवादीका नेता तथा कमाण्डरहरुले अवमुल्यन गरेका छन्, आजको दिनमा हामीलाई मरे हुन्छ भन्दैछन्, हामीले लडेर ल्याएको परिर्वतनको अपनत्व हामीले गर्न पाउँदैनौं, हामीले गोली र रगतसंग सोटेको गणतन्त्रमा अपमानको जीवन ज्युउनु परेको छ, हजारौं शहिदहरुको रगतसँग साटेको गणतन्त्रको रातो कार्पेटमा उनीहरु हिड्ने हामीलाई वेबारिसे ढंगले सडकमा छोडिदिने ? यो कसरी भयो ?

उनले अघि थपे,‘जनयुद्धको बेलामा समाजवाद हुँदै साम्यवादी यूगमा मुलुकलाई प्रवेश गराउँने भनेर नारा बाढिएको थियो ? आज म यसै पत्रकार सम्मेलन मार्फत सोध्न चाहन्छु, प्रचण्डजी जनयुद्धमा देखाएको समाजवादको नारा कहाँ गयो ? त्यतिबेला जे प्राप्त हुन्छ त्यो बाँडेर खाउँला, समाजको मुक्ति र निरंकुशताको अन्त्य गर्नु आजको आवश्यकता हो भनेर भनिन्थ्यो तर आज स्वार्थ, सत्ता र सम्पत्तिमा पूर्व कमाण्डरहरु लिप्त छन् ।’

कम्युनिष्टहरुले सरकार चलाएको बेलामा पनि जनयुद्ध लडेकाहरुले अधिकार नपाउनु दुःखद भएको पनि उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?