काठमाडौं–सरकारले मंगलबार सामाजिक सुरक्षा दिवस तामाझामका साथ मनाउँदैछ । यसका लागि राजधानीको प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रमको आयोजना गरिएको छ भने सोही कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्ने कार्यक्रम छ ।
सो सुरक्षा योजना कार्यक्रमलाई सरकारले महत्वकांक्षी योजनाका रुपमा लिएको प्रधानमन्त्रीको अभिव्यक्तिले नै पुष्टि गर्छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा दिएको शुभकामना सन्देशमा ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताएका छन् ।
सन्देशमा उनले मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन् ।
“श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ,” प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ ।
उनले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामनासमेत व्यक्त गरेका छन् ।
सुशासन र समृद्धिको बखान गर्दै आएको केपी ओली नेतृत्वको सरकारले ९ महिनाको अवधिमा उल्लेख्य कुनै काम नगरेको भन्ने टिप्पणी भइरहँदा मंगलबारदेखि सञ्चालनमा आउन लागेको सामाजिक सुरक्षा योजनाअघि सार्वजनिक तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ । प्रधामन्त्री केपी शर्मा ओलीकै फोटो राखेर प्रचार गरिएको तस्बिरप्रति व्यङ्ग्य सुरु भएको हो ।
देशमा दण्डहीनता मौलाएको, बलात्कारी र अपराधीलाई राज्यले नै संरक्षण गरिरहेको, महिला हिंसा बढेको जस्ता उदाहरण देखाउँदै सामाजिक सञ्जालमा ओली सरकारले कस्तो नयाँ युग ल्याउन लागेको होला भन्दै व्यङ्ग्य सुरु भएको हो ।
सामाजिक सुरक्षा सम्बन्धी प्रचार सामाग्रीमा ओलीको फाेटोसँगै ‘एउटा नयाँ युगको सुरुवात’ लेखिएको छ भने फोटोको तलतिर ‘सहभागिता–योगदान – सामाजिक सुरक्षा’ लेखिएको छ । सो फोटोमा सामाजिक सञ्जालमा ‘पोलमा झुण्डिएको नयाँ युगको सुरुवात गर्दै सरकार’ भन्ने सम्मका व्यङ्ग्य समेत पोखिएका छन् । रोचक छ के छ भने ओलीको यस्तो प्रचार सामग्रीको आलोचना गर्नेमा नेकपाकै कार्यकर्ता र नेकपाप्रति आस्था राख्नेहरुको संख्या समेत उल्लेख्य छ ।
ओलीको फोटोसहित राजधानीका विभिन्न स्थानमा प्रचार सामग्री राखिएका छन् ।
सामाजिक सञ्जालमा आएका केही प्रतिनिधि टिप्पणी हेर्नुहोस्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया