काठमाडौं । पुनर्निर्माणका कामहरुलाई अझ प्रभावकारी बनाई छिटो सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहहरुबीच ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पुनर्निर्माणको कार्यमा समन्वय एवं सहयोग आदान प्रदान गर्नका लागि काभ्रेपलाञ्चोक जिल्लामा आयोजित कार्यक्रममा गरिएको समझदारीपत्रमा प्राधिकरणका तर्फबाट जिल्ला कार्यान्वयन इकाई (जिमाली) काभ्रेका आयोजना प्रमुख लोकनाथ रेग्मी र सम्बन्धित गाउँपालिकाका- नगरपालिकाका प्रमुख -उपप्रमुखले हस्ताक्षर गर्नु भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नगरपालिका एवं गाउँपालिका बीच भएको पुनर्निर्माण सम्बन्धी समझदारी पत्र
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (जसलाई यसपछि ‘प्राधिकरण’ भनिएको) र……………………………………………………………. नगरपालिका-गाउँपालिका (जसलाई यसपछि ‘नगरपालिका-गाउँपालिका’ भनिएको) का बीचमा पुनर्निर्माणको कार्यको समन्वय एवं सहयोग आदान प्रदानका लागि देहायबमोजिमका शर्तहरुका अधिनमा रही कार्यान्वयन गर्ने गरी यो समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
१. प्राधिकरणले नगरपालिका-गाउँपालिकामा इन्जिनियर, सब–इन्जिनियर, असिष्टेण्ट सब–इन्जिनियर र डकर्मी आवश्यकता अनुसार खटाउने छ । प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका-गाउँपालिकाको हुनेछ । नगरपालिका-गाउँपालिकाभित्र आवश्यकता अनुसार वडामा नगरपालिका-गाउँपालिकाले जनशक्तिलाई खटनपटन गर्नेछ । नगरपालिका-गाउँपालिका भन्दा अन्यत्र सरुवा गर्दा नगरपालिका-गाउँपालिकाको सहमति लिइनेछ । सम्बन्धित वडाका वडाध्यक्षको सिफारिशमा नगरपालिका-गाउँपालिका प्रमुख-अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरुले हाजिरी प्रमाणित गरेको आधारमा जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाईले निजको तलब भत्ता उपलब्ध गराउनेछ ।
२. बुँदा नं. १ मा उल्लेख गरिएको बाहेकका अन्य कर्मचारी-विज्ञ समेत प्राधिकरणले आवश्यकता र औचित्यताका आधारमा नगरपालिका-गाउँपालिकामा पठाउन सक्नेछ । यसरी पठाइने कर्मचारीको सेवा, शर्त र कार्य जिम्मेवारी नियुक्ति वा करारका बखत तोकिएबमोजिम हुनेछ ।
३. नगरपालिका-गाउँपालिकाले प्राधिकरणबाट खटिएका जनशक्तिहरुलाई पुनर्निर्माणको काममा मात्रै लगाउनु पर्नेछ ।
४. नगरपालिका-गाउँपालिकामा प्राधिकरणबाट खटिएका जनशक्तिहरुलाई आवश्यक कार्यस्थल र फर्निचर पालिकाले व्यवस्था गर्नुपर्नेछ । प्राधिकरणले मसलन्द खर्चका लागि आवश्यक पर्ने बजेट शर्तसहित एकमुष्ट नगरपालिका-गाउँपालिकामा निकाशा उपलब्ध गराउनेछ ।
५. नगरपालिका-गाउँपालिकामा खटिएका कर्मचारीहरुलाई उच्चतम पदीय मर्यादाबमोजिमको कर्तव्यपालनाको लागि आवश्यक वातावरणको सृजना नगरपालिका-गाउँपालिकाले गरिदिनु पर्नेछ । कुनैपनि हालतमा सामाजिक एवं राजनीतिक पूर्वाग्रहको आधारमा निर्णय गर्नुपर्ने अवस्थाबाट मुक्त राखी निष्पक्ष तवरबाट कार्य गर्ने वातावरणको सिर्जना गर्नु पर्नेछ ।
६. स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजनाहरु जस्तो गुम्बा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले शर्तसहित नगरपालिका-गाउँपालिकामा निकाशा उपलब्ध गराउने व्यवस्था मिलाउन सक्नेछ । नगरपालिका-गाउँपालिकाले गर्ने भनी तोकिएका आयोजनाको कार्यान्वयन प्राधिकरणले निर्धारण गरे बमोजिम सम्पन्न गरी नगरपालिका-गाउँपालिकाले फरफारक गर्नु पर्नेछ ।
७. नगरपालिका-गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनर्निर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्नेछन् । यसमा प्राधिकरणले आवश्यक सहयोग गर्नेछ ।
८. नगरपालिका-गाउँपालिकामा खटिएका कर्मचारीले पदीय आचरण विपरित कार्य गरेको भेटिएमा नगरपालिका-गाउँपालिकाले कारवाहीका लागि प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईलाई सिफारिश गर्नेछ । जिल्ला आयोजना कार्यान्वयन इकाईले कार्वाहीको प्रक्रिया अगाडि बढाउनेछ ।
९. लाभग्राहीसँग अनुदान सम्झौता भएपछि नगरपालिका-गाउँपालिकाले प्राविधिकहरुबाट डिजिटाइजेसन गर्नुपर्नेमा नभएको हकमा प्राविधिकहरुबाट डिजिटाइजेसन गर्ने, गराउने र सोको आधारमा निरीक्षण सिफारिश समेत गर्ने, गराउनेछ ।
१०. निजी आवास पुनर्निर्माण सम्बन्धी तथ्यांकहरु, अभिलेख, दस्तावेज प्राधिकरणबाट क्रमशः नगरपालिका-गाउँपालिकाहरुमा हस्तान्तरण गरिनेछ । यसरी हस्तान्तरण गर्दा आवश्यक प्रविधि, जनशक्ति र उपकरणको सहयोग प्राधिकरणले नगरपालिका-गाउँपालिकालाई गर्नेछ ।
११. पुुनर्निर्माणको कार्यान्वयनको सिलसिलामा केही जटिलता एवं समस्याहरु आइपरेमा प्राधिकरण तथा नगरपालिका-गाउँपालिकाले आपसी समझदारी कायम गरी कार्यान्वयनलाई अगाडि बढाइनेछ ।
प्राधिकरणका तर्फबाट हस्ताक्षर गर्ने नगरपालिका-गाउँपालिकाका तर्फबाट हस्ताक्षर गर्ने
हस्ताक्षरः
हस्ताक्षरः
नाम : लोकनाथ रेग्मी नाम :
पद : आयोजना प्रमुख पद :
कार्यालय : जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) काभ्रेपलाञ्चोक कार्यालय :
मिति : २०७५-०८-१० मिति : २०७५-०८-१०
साक्षीहरु
१) प्रमुख, जिल्ला समन्वय समिति, काभे्रपलाञ्चोक ।
२) प्रमुख जिल्ला अधिकारी, काभ्रेपलाञ्चोक ।
३) प्रमुख जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ।
४ प्रमुख, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग भएको समझदारीबाट पुनर्निर्माणको कामले अझ बढी गति लिई बाँकी काम समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूकम्प प्रभावित अरु जिल्लाहरुमा पनि स्थानीय तहहरुसँग समझदारी गरेर अघि बढ्ने बताउनुभयो ।
प्रदेश नं. ३ का सभासद् लक्ष्मण लम्सालले समझदारीले पुनर्निर्माणका बाँकी कामहरुलाई उदाहरणीय बनाउन सहयोग पु-याउने बताउनुभयो ।
मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले समझदारीलाई अक्षरश पालना गरी पुनर्निर्माणको बाँकी कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल डिम्माले समझदारी पुनर्निर्माणका लागि कोसेढुङ्गा भएको टिप्पणी गर्नुभयो । ‘असार मसान्तभित्र निजी आवास निर्माण गर्न समझदारीले महत्वपूर्ण भूमिका खेल्नेछ’–उहाँले भन्नुभयो ।
जी आवास पुनर्निर्माण सम्बन्धी दुई दिन आयोजित कार्यक्रममा चालू आर्थिक वर्षमा निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने गरी स्थानीय तहहरुले आ–आफ्नो कार्ययोजना पनि तयार पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया