विकासको गतिलाई तिव्र रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताएका छन् । 

सरकारले गठन गरेको जनशक्तिप्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउका हुन् । 

“विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौं ।”

प्रधानमन्त्री ओलीले योजनावद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको बताएका छन् । 

“देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनुपर्दछ ।” प्रधानमन्त्री ओलीले भने, “यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा वर्षौंसम्मका लागि जनशक्तिको आपूर्तीलाई मार्गदर्शन गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धान मुलक र गहन अध्ययनका साथ कामगर्न निर्देशन दिएका छन् ।  “आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ” प्रधानमन्त्री ओलीले भने, “डाक्टर कति चाहिने, इन्जिनियर कति, शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ ।”

समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग, मन्त्रालयहरुले पनि योजना बनाउने भएकोले यसलाई त्रुटी रहित बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

अनुमानमा होइन तथ्यका आधारमा, भवितव्यमा होइन योजनवद्ध रुपमा काम गर्नुहोस” प्रधानमन्त्रीले निर्देशनमा भनेका छन् , “प्रतिवेदनमा नयाँ निष्कर्षहरु आउनु पर्दछ ।”

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्नका लागि असोज २८ गते  डा.रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो । समितिका सदस्यहरुमा डा.माधवदाहाल, डा.इन्दिरा पराजुली, डा.विश्ववालाथापा, डा.विजयदत्त,डा. ध्रुवगौतम र डा.राजेश अहिराज छन् । 

कार्यदलको निर्देशक समितिमा शिक्षामन्त्रीको संयोजकत्वमा गठन गरिएको छ । समितिको म्यादचार महिना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?