सबै प्रकारका महिला हिंसा अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका महिला हिंसा अन्त्य हुने बताएका छन् । 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपालमा महिला हक र अधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको बताउँदै सबै प्रकारका हिंसा अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।  

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘संविधानले सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरेको छ, प्रत्येक नेपाली महिलालाई बिना लैङ्गिक भेदभाव समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक लगायत मौलिक हक प्रत्याभूत गरेको छ, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनबाट विभिन्न तहको नेतृत्वमा निर्वाचित भएकामध्ये ४१ प्रतिशत महिलाहरु नै छन्, यो दक्षिण एसिया र विश्वकै लागि प्रेरणादायी छ ।’

साथै प्रधानमन्त्री ओलीले महासन्धि १९७९ को नेपाल पक्ष राष्ट्र भएकोले महासन्धि सरकराले पूर्ण पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

उनले मानव अधिकारको विश्वव्यापी घोषणा १९४८, राजनीतिक तथा नागरिक एवं आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अनुबन्ध १९९६ र महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि १९७९ को सरकारले पूर्ण पालना गर्ने बताएका हुन् । 

यसैगरी व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्र नै लैङ्गिक हिंसाको नकारात्मक प्रभावबाट ग्रसित भएको बताउँदै यसका लागि सरकार गम्भीर रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?