थप उपचारका लागि निर्मलाका बुवा यज्ञराज पन्तलाई काठमाडौं ल्याइयो

धनगढी । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं ल्याइएको छ । 

शनिवार राति सेती अञ्चल अस्पतालमा बेहोस बनाएर उनलाई गाडीमार्फत काठमाडौं ल्याइएको हो । 

यसअघि विमानबाट काठमाडौं लैजाने प्रयास असफल भएको थियो । सुरक्षाका कारण विमानबाट काठमाडौं पठाउन नसकिएपछि जिप भाडामा लिएर पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।

निर्मलाका बुवा, आमा र दुई जना आफन्तपनि सँगै काठमाडौं आएका छन् । 

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टका अनुसार यज्ञराजमा मानसिक समस्या देखिएपछि चिकित्सकले काठमाडौं लैजान सुझाव दिएका थिए । 

छोरीको न्यायका लागि १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजमा तीन दिनदेखि मानसिक समस्या देखिएको थियो ।

गत साउन १० गते साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको थियो । 

निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाएर कारबाही गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?