प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने कांग्रेस नेताहरुको दावी

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वभाविक हुने तर्क समेत गरे ।

शनिवार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले आयोजना गरेको सांसदहरुको भेलामा सहभागी भएका कांग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गरेपनि सरकारको नेतृत्व कांग्रेसले नै गर्नु स्वभाविक हुने प्रतिक्रिया दिए ।

उनले सञ्चारकर्मीमाझ आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वभाविक रुपमा लिने धारणा समेत राखे । प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा कांग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क छन् । उनले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढने बताए । नेता निधिले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ । र, हाम्रो चाहना पनि हो । र, अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो । प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याई हो ।’

सांसद दिपक खड्काले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरुबीचमा सहमती जुट्ने बताए । उनले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको बताए ।

कांग्रेस नेताहरुले पार्टी संसदीय दलको नेता चयनमा सर्वसम्मतिको प्रयास हुने र त्यो सम्भव नभए पनि देउवानै निर्वाचित हुने दावी समेत गरे । नेता निधिले त आफू संसदीय दलको निर्वाचन भए देउवाको पक्षमा उभिने समेत प्रष्टयाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?