देश विकासमा लाग्न काङ्ग्रेस नेता सिटौलाको आग्रह

इलाम । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली जनताको वर्तमान सरकारबाट धेरै अपेक्षा रहेको बताएका छन् ।

उनले जनताले जिताएर पठाएका प्रतिनिधिबाट धेरै अपेक्षा गरे पनि बितेको एक वर्षमा उल्लेखनीय काम नभएको भन्दै पत्रकारसँग दुःख व्यक्त गरे ।

काङ्ग्रेसका पूर्वमहामन्त्री सिटौलाले सबै दलहरू मिलेर समस्या समाधान गरेकाले सबै एक भएर देश विकासमा लाग्न आग्रहसमेत गरे । “सरकारले काम गरोस् । त्यसका लागि सघाउन हामी तत्पर छौँ,” सिटौलाले थपे, “तर विपक्षी दलका नेताले समेत त्यसमा औँला ठड्याउन सक्नुपर्छ ।” 

कार्यक्रममा १ नं प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रसिद्ध धार्मिकस्थल गजुरमुखीलाई प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए । प्रदेशसभा सदस्य धीरेन शर्माले माङसेबुङ जस्तो पवित्र धार्मिक स्थललाई पर्यटकीय क्षेत्रका रूपमा घोषणा गर्नसमेत पहल गरिने जानकारी दिए ।

माङसेबुङमा वृद्धाश्रम बन्ने 

माङसेबुङ गाउँपालिका–२ इभाङमा एक करोड रूपैयाँको लागतमा सुविधासम्पन्न वृद्धाश्रम बन्ने भएको छ । वृद्धाश्रमको आज एक कार्यक्रमबीच नेपाली काङ्ग्रेसका नेता सटौलाले शिलान्यास गरे । 

वृद्धाश्रम निर्माणका लागि स्थानीय बासिन्दा नेत्र न्यौपानेले तीन रोपनी जग्गादान दिएका छन् । भवनका लागि पाँच रोपनी जग्गा आवश्यक पर्ने भएकाले अन्य दुई रोपनी जग्गा गजुरमुखी सामाजिक विकास मञ्चले खरीद गरेको छ । वृद्धाश्रम निर्माणको जिम्मा मञ्चले लिएको मञ्चका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

वृद्धाश्रम निर्माणका लागि स्थानीय बासिन्दा, गाउँपालिका, नगरपालिका, प्रदेश सरकारसँग सहयोग माग गर्नेसमेत उनले बताए । “वृद्धाश्रम सञ्चालनका लागि पाँच हजार पाँच सय व्यक्तिबाट दैनिक एक रूपैयाँका दरले पाँच वर्षमा करीब एक करोड रूपैयाँ हुन्छ, यसलाई अक्षयकोष स्थापना गरी यसको ब्याजबाट सञ्चालन गरिन्छ,” अध्यक्ष गौतमले भने ।

बीस कोठाको सुविधासम्पन्न भवनमा १५ कोठामा दुई/दुई जनाका दरले वृद्धवृद्धा रहने र अन्य कोठामा भान्छाघर, प्रशासन, बैठक कक्ष राखिने गजुरमुखी सामाजिक विकास मञ्चले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?